स्वास्थ्य/जिवनशैली

आज खिर खाने दिन, यस्ता छन् फाइदा

आज खिर खाएर साउन १५ गते मनाइँदै छ । नेपाली समाजमा ‘असार १५ दही चिउरा र साउनको १५ खिर’ भन्ने भनाइ नै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खिर खाने परम्परा रहँदै आएको मानिन्छ ।

खिर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो । यसको नेपाली समाजमा विशेष महत्त्व छ । साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खिर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खिर खानु स्वास्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ ।

दूध र चामल मिश्रित खिरलाई मात्रा अनुसार मिसाइने चिनी, घ्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ। चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो । गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौँ । खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ । खिरमा सुख्खा फल मिसाउँदा भिटामिन र खनिज जस्ता तत्व पाउन सकिन्छ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button