अर्थमुख्य खबर

वीरगञ्जका क्यासिनो अवैध धन्धाका अखडा, दर्जनौं बिल्लीबाठ भएपछि प्रहरी बल्ल तात्यो

Thrill Factory
Rungta Group

वीरगञ्जका तारे होटल र रिसोर्टमा खुलेका क्यासिनोमा अवैध धन्धा चलाइने गरेको खुलासा भएको छ । विगत लामो समयदेखि वीरगञ्जमा ४ ओटा होटलमा खुलेका क्यासिनोमा नेपालीलाई जुवा खेलाउने गरिए पनि प्रहरी प्रशासनले नियन्त्रणमा चासो देखाएका थिएनन् ।

वीरगञ्जका होटल भिस्वा, होटल सुरज, होटल लर्डस् दियालो र क्लार्क रिसोर्टमा क्यासिनो सञ्चालनमा छन् । यी सबै होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई निर्वाध रुपमा जुवा खेलाउने गरिएको छ ।

क्यासिनोमा गएका नेपालीलाई पैसा चाहिएमा उपलब्ध गराउन एउटा गिरोह नै लागेको छ । यस्तो गिरोहमा वीरगञ्जका केही विवादास्पद व्यापारीहरुको नाम चर्चामा छ । उनीहरुले क्यासिनोका नेपाली ग्राहकलाई तत्काल पैसा उपलब्ध गराउने र भोलिपल्टै पैसा असुल्न त्यस्ता व्यक्तिको घरमा बाउन्सर पठाउने गरेका छन् ।

त्यस्ता व्यापारीले क्यासिनो सञ्चालकसँग टेबल ठेक्कामा लिएर नेपाली ग्राहकलाई बिल्लीबाठ बनाउने धन्धा चलाउने गरेका छन् । यस्तो धन्धामा वीरगञ्जका एकजना विवादास्पद ढुवानी व्यवसायीका अगुवाको नाम चर्चाको अग्रस्थानमा छ । ती व्यवसायीले लर्ड दियालोमा टेबल बुक गरेर नेपाली ग्राककलाई फसाउँदै आएका छन् ।

यो धन्धामा प्रहरी प्रशासनको समर्थन रहँदै आएको थियो । विदेशी नागरिकका लागि भनेर खोलिएका क्यासिनोमा कानूनतः नेपालीलाई जुवा खेलाउन पाइँदैन । वीरगञ्जका क्यासिनोका कारण दर्जनौं मानिसको बिल्लिबाठ भइसकेको छ । स्थानीयले यसरबारे प्रहरी प्रशासनलाई सूचना दिए पनि नियन्त्रणमा चासो राखिएको थिएन ।

पर्साको प्रहरी प्रमुखमा एसपी कुमोद ढुंगेल आएपछि प्रहरी यसमा केही चनाखो देखिएको छ । चौतर्फी दबाब र गुनासो बढ्न थालेपछि प्रहरी नियन्त्रणको कदम चाल्न बाध्य भएको हो । प्रहरीले भिस्वा होटलबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीलाई अवरोध गर्ने क्यासिनोका कर्मचारीमात्र छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले होटल भिस्वामा सञ्चालित सीएमजी क्लब नामक क्यासिनोबाट ४ जनालाई पक्राउ गरिएको बताए । डीएसपी थापाका अनुसार पक्राउ पर्नेमा कास्की पोखरा–१५ का प्रताप लामा, सर्लाही बरहथवा–११ का उमेश कार्की, वीरगञ्ज–१६ का पप्पु सिंह र वीरगञ्ज–८ का सुरजकुमार कलवार छन् ।

नेपाली नागरिकलाई जुवा खेलाइएको सूचनाका आधारमा प्रहरी चेकजाँचका लागि गएको थियो । प्रहरी टोलीलाई क्यासिनो प्रवेशमा अवरोध गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button