खेल संसार

एनपीएल भिडन्त : आज इलिमिनेटरमा कर्णाली र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल हुँदैछ। यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा भिडन्त हुन लागेको हो।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।

लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्।

लिग चरणको भेटमा चितवनविरुद्ध कर्णालीले बाजी मारेको थियो। कर्णालीविरुद्ध सुरुमा ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा बनाएको १३१ रनको लक्ष्य कर्णालीले चार विकेटको क्षतिमा एक बल बाँकी हुँदा १३२ रन बनाएर पुरा गरेको थियो।

कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा ४५ रन बनाएका थिए। यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन जोड्दा जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाएका थिए। बलिङमा चितवनका कुशल मल्ल, रवि बोपारा र जान निकोल लफ्टी-इटनले एक एक विकेट लिएका थिए

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो।

चितवनका लागि रबि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाउँदा कप्तान कुशल मल्लले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट हात पारेका थिए। रोचक त के छ भने लिगमा तीन खेल खेलेको कर्णालीले चितवनविरुद्ध पहिलो जित निकालेको थियो।

यता, सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ। यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।

चितवन र कर्णालीमध्ये एक टिम इलिमिनेटर प्रतिस्पर्धामा पराजित भएमा उपाधि होडबाट बाहिरिनेछन्। विजयी टिमले भने पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ः १५ बजे सुरु हुनेछ। दोस्रो क्वालिफायरमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ भने विजयी टिमले पहिलो क्वालिफयारमा विजयी हुने टोलीसँग फाइनलमा उपाधि भिडन्त गर्न पुग्नेछ। नेपालको किक्रेट उत्सावका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

विभिन्न देशका ४० भन्दाबढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ । उपविजेतालाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउनेछन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button