खेल संसार

नेपाल प्रिमियर लिग : आइतबारका खेलमा रोमाञ्चक प्रतिस्पर्धा

आइतबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई रोमाञ्चक खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुनेछ। लगातार तीन खेलमा जित हात पारेको जनकपुरले यस खेलमा पनि विजयी यात्रा कायम राख्ने लक्ष्य राखेको छ भने लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ।

जनकपुरको कप्तानी अनिल शाहले गरिरहेका छन्। टोलीले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठ-आठ विकेटले हराएको थियो भने तेस्रो खेलमा पोखरालाई सात विकेटले पराजित गर्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ। समान अंक भए पनि रनरेटको आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा रहेको छ।

यता, लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा छ। लुम्बिनीले अहिलेसम्म तीनै खेलमा पराजय व्यहोरेको छ। पहिलो खेलमा विराटनगरसँग अन्तिम बलमा दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले र तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी तालिकाको पुछारमा छ।

दोस्रो खेल: सुदूरपश्चिम रोयल्स बनाम चितवन राइनोज

आइतबारकै दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। यस खेलमा अपराजित सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने चितवन चार अंकसहित तेस्रो स्थानमा छ।

सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ। टोलीले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौंलाई ७३ रनले, र तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले हराएको छ।

चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन्। टोलीले पहिलो खेलमा काठमाडौंलाई पाँच विकेटले र दोस्रो खेलमा पोखरालाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा भने कर्णालीसँग एक बल बाँकी छँदा ६ विकेटले पराजित भएको थियो।

चितवन आजको खेलमा जित निकाल्दै तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ। यी दुई खेलहरूले एनपीएलको प्रतिस्पर्धा अझ रोमाञ्चक बनाउन सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button