३ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी

पछिल्लो समयलगातार खराब प्रदर्शनका कारण आजित देखिएको म्यानचेस्टर सिटी अर्को निरासाजनक बराबरीको सिकार भएको छ। च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा सिटी डच क्लब फेनोर्डसँग ३-३ गोलको बराबरी खेलेको हो।
इतिहाड स्टेडियममा भएको यो अप्रत्यासित घटनाले सिटीको कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ। पेप ग्वार्डिओलाको टोली अर्लिङ हालान्डका दुई गोल र इल्के गुन्डोगानको अर्को एक गोलको मद्दतमा ३-० को अग्रता बनाउनै सहज जिततर्फ उन्मुख देखिएको थियो। तर, डच पाहुनाले शानदार पुनरागमन गर्दै ५ हजार समर्थकहरूलाई अप्रत्यासीत खुसीसहित बिदाइ गरेको हो।
फेनोर्डका अनिस हज मौसाले जोस्को ग्भार्डिओलको गल्तीको फाइदा उठाउँदै पहिलो गोल गरे। ८२औँ मिनेटमा ‘सब्सटिच्युट’ खेलाडी सान्टियागो गिमेनेजले आफ्नो टोलीका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बनाए। फेनोर्डले सम्झनलायक पुनरागमन पूरा गर्ने क्रममा ८९ औँ मिनेटमा तेस्रो गोल गरेका थिए। यो नतिजाले सिटी समर्थकहरूलाई निरास बनाएको थियो।
पाँच खेलको हारको श्रृंखला तोडेपनि सिटीले पछिल्ला ६ खेलमध्ये कुनैमा पनि जित निकाल्न सकेको छैन। अब उनीहरू आइतवार लिभरपुलविरुद्धको महत्वपूर्ण प्रिमियर लिग खेलतर्फ अघि बढ्दै छन्। पछिल्लो चार साताभित्रै ग्वार्डिओलाको टोली ईएफएल कपबाट बाहिरियो, लगातार तीन प्रिमियर लिग खेल गुमायो र च्याम्पियन्स लिगमा ६ मध्ये पाँच अंक खेर फाल्यो।
सिटीको लागि यो रात पनि हार जस्तै बन्यो किनभने सिटीले सबै प्रतियोगितामा लगातार ६ खेलमा दुई वा दुईभन्दा बढी गोल खानुपरेको छ, जुन मे १९६३ यताकै खराब रेकर्ड हो। यद्यपि, सिटीले गोल गर्दै रातको राम्रो सुरुवात गर्यो।
उसले पहिलो हाफमा १ गोल गरेको थियो भने ५३ मिनेटभित्र तीन गोल पूरा गरेको थियो। तर त्यसपछिको समय भने उसका लागि बिर्सनलायक रह्यो।


