गुवाहाटीमा नेपाल ‘ए’ को विजय, आसामविरुद्ध टी–२० सिरिज ३–२ ले आफ्नो पक्षमा

भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी–२० क्रिकेट शृंखला नेपाल ‘ए’ ले जितेको छ। सोमबार भएको निर्णायक अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको हो।



पहिले ब्याटिङ गर्दै नेपाल ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको विशाल योगफल बनायो। टोलीका लागि सन्दीप जोराले ३९ बलमा २ चौका र ५ छक्कासहित ६४ रनको आक्रामक इनिङ्स खेले। त्यस्तै शुभ कंसाकारले ४१ रन र इशान पाण्डेले ३२ रनको योगदान दिए। आसामका बलर आयुष्मान मलाकार र अभिनव चौधरीले समान २–२ विकेट लिए।



२०९ रनको लक्ष्य पछ्याउन उत्रिएको आसाम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमै रोकियो। टोलीका लागि भार्गव लहकरले अविजित २९ रन बनाए भने कप्तान सुमित घडिअन्कर र साहिल जेनले समान २५ रनको योगदान गरे। नेपालका बलर शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान २–२ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे।



यसअघि बिहीबार सुरु भएको शृंखलामा पहिलो खेल डीएल पद्धतिअनुसार आसामले १५ रनले जितेको थियो। दोस्रो खेलमा नेपाल ९६ रनले विजयी भएको थियो भने तेस्रो खेलमा ९ रनले नेपालले जित हात पारेको थियो। चौथो खेल भने आसामले १८ रनले जितेको थियो।