तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप आजदेखि

लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबले सुनसरीको द योङ ब्रदर्स क्लब इटहरीसँग प्रतिस्पर्धा गर्नेछ।
दुवै टिममा विदेशी खेलाडी समेत समावेश छन्। आजको खेलमा विजयी हुने टिमले सोमबार हुने भारत र काठमाडौंबीचको खेलको विजेतासँग सेमिफाइनलमा भिड्नेछ।
प्रतियोगितामा भारतको एक क्लबसहित नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबहरूको सहभागिता छ। फाइनल खेल साउन ३१ गते हुने तय गरिएको छ।
विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ, उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ।
दर्शकका लागि क्वाटर फाइनल चरणका खेलमा १०० रुपैयाँ, सेमिफाइनलमा २०० रुपैयाँ र फाइनलमा २५० रुपैयाँ टिकट दर तोकिएको छ। आयोजकका अनुसार, करिब ९ हजार दर्शक अटाउने गरी बाँसबाट प्यारापिट निर्माण गरिएको छ।


