
पछिल्लो १२ महिनामा सर्पदंशका घटनामा केही कमी देखिए पनि विषालु सर्पको डसाइको दरमा उल्लेख्य वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत जूनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. हेमन्त ओझाका अनुसार करिब ९ हजार सर्पदंशका घटनामध्ये १८ प्रतिशत विषालु सर्पका कारण भएका थिए।
“पहिले सर्पदंशमध्ये १०–१३ प्रतिशत मात्र विषालु हुने गर्थे, यसपटक त्यो दर १८ प्रतिशत पुगेको छ,” उनले भने। यद्यपि सर्पसम्बन्धी विज्ञ प्रा. करन शाहले यो वृद्धिको कारण सर्पको अभिलेखीकरणमा त्रुटि हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। उनका अनुसार धामनजस्ता विषरहित सर्पलाई समेत विषालु मानेर गणना गरिँदा तथ्याङ्कमा भ्रम देखिएको हो।
नेपालमा सर्पदंशका कारण मृत्यु हुनेको यकिन तथ्याङ्क अहिलेसम्म सरकारी अभिलेखमा छैन। “चालु वर्षदेखि नै मृत्युसहितको विस्तृत विवरण स्थानीय तहदेखि अद्यावधिक गर्ने तयारीमा छौँ,” डा. ओझाले बताए।
तराईमा समस्या गम्भीर
सर्पदंशका घटना पहाड, हिमाल र तराई तीनै भूभागमा देखिए पनि तराईका २६ जिल्लामा यो समस्या गम्भीर रूपमा देखिएको छ। गर्मी तथा वर्षायाममा लुम्बिनी, मधेश र सुदूरपश्चिममा सर्पदंशका घटनाहरू तीव्र हुने गरेको मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा मात्रै अघिल्लो आर्थिक वर्षमा १,७७६ वटा सर्पदंशका घटना रेकर्ड भएका छन्, जसमा २७७ वटा विषालु सर्पका थिए। रूपन्देही, दाङ र पाल्पा सबैभन्दा प्रभावित जिल्लाहरू हुन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र १२ महिनामा १,१०० जना सर्पदंशका बिरामी आएका थिए। तीमध्ये एक जनाको मात्रै ज्यान गएको अस्पतालका सूचना अधिकारी डा. ज्ञानहरि मरासिनीले जानकारी दिए।
“हामीले सर्पदंश उपचारका लागि छुट्टै आईसीयू स्थापना गरेका छौँ र प्रतिविषको पर्याप्त व्यवस्था छ,” उनले भने, “तर धेरै बिरामी उपचार सुरु हुनुअघि नै बाटोमा ज्यान गुमाउँछन्।”
४० प्रतिशतको मृत्यु अस्पताल पुग्नुअघि
डा. ओझाका अनुसार सर्पदंशका कारण हुने कुल मृत्युमध्ये ४० प्रतिशत बिरामी समुदायमै मृत्यु हुने गर्छन्। “झारफुक वा ढिलो निर्णयका कारण बिरामी अस्पताल नै पुग्दैनन्,” उनले बताए। बाँकी ४० प्रतिशत बिरामीको बाटोमै र अन्य २० प्रतिशतको अस्पतालमा मृत्यु हुने गरेको मन्त्रालयको विश्लेषण देखाउँछ।
वर्षासँगै काठमाडौं उपत्यकामा पनि सर्पदंशका घटना बढेका छन्। शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै २०२५ को सुरुदेखि हालसम्म ४१५ बिरामी उपचारका लागि आएका छन्। अस्पतालका चिकित्सक डा. मिलन बज्राचार्यका अनुसार अधिकांश घटना विषरहित सर्पको डसाइका थिए।
“गएको वर्ष प्रतिविष दिनुपर्ने अवस्था आएको थिएन,” उनले भने, “फागुनयता एक जनाको मात्रै मृत्यु भएको छ, त्यो पनि अन्य स्वास्थ्य समस्याको कारण थियो।”
नेपालमा १७ प्रकारका विषालु सर्प
डा. ओझाका अनुसार नेपालमा १७ प्रकारका विषालु सर्प पाइन्छन्। तीमध्ये गोमन, करेत, रसेल्स भाइपर र स(स्केल्ड सबैभन्दा घातक मानिन्छन्। यद्यपि विषालु सर्पले हरेक पटक विष छाड्छ भन्ने हुँदैन। “३०–४० प्रतिशत डसाइहरू ड्राइ बाइट (विषरहित डसाइ) हुन्छन्,” प्रा. शाहले बताए।
चिकित्सकहरूले जनस्वास्थ्यसम्बन्धी चेतनाको कमीले सर्पदंशको समस्या गम्भीर बन्दै गएको बताउँछन्। “जुन ठाउँमा सर्पको जोखिम बढी हुन्छ, त्यहाँ सावधानी अपनाउने बानी छैन,” डा. मरासिनीले भने, “खेतमा बुट नलगाई जानु वा भुइँमा सुत्नुले जोखिम बढाउँछ।”
नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत सावधानी अपनाउन आग्रह गर्दै खुट्टा ढाक्ने कपडा लगाउने, राति टर्च लिएर हिँड्ने, सुत्नुअघि ओछ्यान जाँच्ने र सर्पदंश भए तत्काल स्वास्थ्य संस्थामा जान सुझाव दिएको छ।
डा. ओझाले विषालु सर्पको जोखिमबारे बुझेर तयार रहन सुझाव दिएका छन्। “आफ्नो क्षेत्रमा कस्ता सर्प छन्, उपचार केन्द्र कहाँ छ भन्ने जानकारी राख्दा ज्यान जोगाउन सकिन्छ,” उनले भने।
विशेषज्ञहरूले सर्पदंशको एक मात्र भरपर्दो उपचार प्रतिविष भएको र झारफुक वा परम्परागत उपायप्रति निर्भर रहँदा धेरैको ज्यान जाने खतरा हुने चेतावनी दिएका छन्।



