No Image Headlineअर्थमुख्य खबरविशेष

इजरेलइरान तनाव : नेपाली अर्थतन्त्रमा कस्तो असर पुग्ला ?

इजरेलले इरानका परमाणु केन्द्रहरूमा आक्रमण गरेको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकाएक उकालो लागेको छ। शुक्रवारको कारोबारमा ब्रेन्ट क्रूड र निमेक्स लाइट स्वीट तेलको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ। अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा यस अवस्थालाई “अत्यन्त अस्वाभाविक” ठान्छन्।

“अहिल्यै मूल्य दोहोरो अंकले बढ्नु भनेको द्वन्द्व लम्बिँदै जाँदा दर अझै उकालो लाग्ने सङ्केत हो,” थापाले बताए।

रुस-युक्रेन युद्धपछिको इन्धनको महँगी केही घट्दै गर्दा नेपाली उपभोक्ताले राहत पाएका थिए। तर, इजरेल-इरान तनाव चुलिँदा पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धिको जोखिम देखिएको र त्यसले नेपाली उपभोक्ताको ढाड सेक्ने अनुमान थापाले गरेका छन्।

खाडी क्षेत्रमा रहेका लाखौँ नेपाली श्रमिक चिन्तित

इजरेल र इरानबीचको संभावित ठूलो युद्धले समग्र मध्यपूर्वमा असर पार्ने देखिएको छ। उक्त क्षेत्रका देशहरूमा काम गर्दै आएका लाखौँ नेपाली श्रमिकहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ।

हाल इजरेलमा करिब ४,५०० देखि ५,००० नेपाली विभिन्न पेशा र व्यवसायमा संलग्न छन्। सन् २०२३ को अक्टोबरमा हमासको आक्रमणमा परेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। अझै एक विद्यार्थी बेपत्ता छन्।

त्यसयता सयौँ नेपाली श्रमिक स्वदेश फर्किए पनि ‘जीटुजी’ सम्झौता अन्तर्गत केयर गिभरका रूपमा जानुपर्ने १ हजारभन्दा बढी नेपालीमध्ये हालसम्म आधाभन्दा कम मात्रै इजरेल पुग्न सकेको सरकारी अधिकारीहरूले बताएका छन्।

इरानमा भने करिब दुई दर्जन नेपाली मात्रै रहेको बताइन्छ। तर, खाडी क्षेत्रमा खासगरी साउदी अरब, कतार, यूएई, कुवेत, ओमान र बहराइनमा लाखौँ नेपाली श्रमिक कार्यरत छन्।

द्वन्द्वले नेपाली श्रमिक र पर्यटन क्षेत्रमा असर

श्रमविज्ञ मीना पौडेलका अनुसार इजरेल र इरानबीचको तनाव चुलिएपछि पूरै खाडी क्षेत्रमा मनोवैज्ञानिक त्रास फैलिएको छ। “द्वन्द्वको असर स्थल, जल र हवाई मार्गमार्फत फैलिने खाडी क्षेत्रमा सिधा पर्छ,” उनी भन्छिन्, “राजनीतिक असर नेपाली श्रमिकमा नपरे पनि मनोवैज्ञानिक र भौतिक असर गहिरो पर्न सक्छ।”

उनको भनाइमा, हालै धेरै उडानहरू रद्द हुने वा पुनः मार्ग परिवर्तन हुन थालेको देखिन्छ। “तनाव लम्बिँदा यसको असर अकल्पनीय हुन सक्छ,” पौडेल भन्छिन्।

उनी थप्छिन्, “श्रमिकहरूको काम गर्ने क्षमता कमजोर बन्ने खतरा छ। उनीहरूसँग मनोपरामर्श सुविधा छैन र नेपाली दूतावासहरू पनि तत्काल सहायता दिन सक्ने संरचनामा छैनन्।”

खाडी अस्थिर हुँदा नेपालको पर्यटन पनि प्रभावित

अर्थविद् थापा भन्छन्, “खाडीमा रोजगारीका साथै पर्यटनमा समेत नेपाली संलग्नता बढ्दै गएको छ। द्वन्द्व चर्किए सेवामूलक क्षेत्रमा काम गर्ने नेपालीहरू रोजगारी गुमाउने खतरा बढ्छ।”

नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२२ अनुसार, खाडीका प्रमुख छ देश र मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको संख्या कुल वैदेशिक रोजगारको ८५ प्रतिशत हिस्सा ओगट्छ।

खाडी क्षेत्र अस्थिर हुँदा त्यहाँको पर्यटन उद्योगमा असर पर्नुका साथै नेपाल आउने पर्यटकको संख्यामा पनि गिरावट आउने खतरा अर्थविद्हरूले औँल्याएका छन्।

‘अहिल्यै भयावह हुने निष्कर्षमा पुग्न हतार’

यद्यपि, थापा अहिले नै खाडी क्षेत्रभर द्वन्द्व फैलिन्छ भनेर निष्कर्षमा पुग्न हतार गर्नु नहुने बताउँछन्। “इजरेल–हमास युद्धका बेला केयर गिभर र विद्यार्थीहरूमा जान इच्छुक घटे पनि अन्य खाडी देशमा नेपालीहरू हजारौँको संख्यामा गइरहेका छन्,” उनी भन्छन्।

“अहिले धेरै खाडी देशहरू अमेरिकी प्रभावमा छन् र समृद्धिमा केन्द्रित छन्। साउदी, यूएई, कतारजस्ता देश युद्धको असर नपरोस् भनेर सचेत देखिन्छन्,” थापाले थपे।

इजरेलस्थित गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष गणेश गिरी पनि युद्ध तत्कालै व्यापक हुने सम्भावना कम रहेको बताउँछन्। “धेरै इस्लामिक देशहरू अब इजरेलविरुद्ध स्वतः भिडिहाल्ने स्थिति छैन,” उनले भने। “तर हमला भइसकेपछि घरभित्रै बस्नुपर्ने अवस्था आउँछ, त्यो मनोवैज्ञानिक रूपमा असरकारक हुन्छ।”

श्रमविज्ञ पौडेल भने यस पटकको तनाव परमाणु केन्द्र लक्षित भएकाले विगतभन्दा भिन्न प्रकृतिको भएको र त्यसले खाडी क्षेत्रमा ‘मनोवैज्ञानिक त्रास’ गहिरो बनाएको बताउँछिन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button