विश्वकप लिग–२ : नेपाल आज स्कटल्याण्डसँग भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज आइतबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ। नेपाल यस खेलमार्फत शृङ्खलामा लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ।
यसअघिका दुई खेलमा नेपालले सानदार प्रदर्शन गर्दै दुबै खेल जितेको थियो। शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै आत्मविश्वास बढाएको छ।
यसअघिका १२ खेलबाट जम्मा ६ अङ्क बटुलेको नेपाल पछिल्ला दुई जितपछि १४ खेलमा १० अङ्कसहित सातौँ स्थानमा उक्लिएको छ।
लिग तालिकाको शीर्ष स्थानमा अमेरिका २० खेलमा २८ अङ्कसहित उभिएको छ। त्यसैगरी, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कका साथ दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छन्।
स्कटल्याण्डले १८ खेलमा २२ अङ्क जोड्दै चौथो स्थानमा स्थान बनाएको छ भने क्यानडा २० अङ्कसहित पाँचौँ र नामिबिया १४ अङ्कसहित छैटौँ स्थानमा छन्। आजको खेल नेपालको शृङ्खलामा अग्रगमनका लागि निर्णायक बन्नेछ।


