खेल संसार

युके अभ्यास भ्रमण: नेपालले मेरिलेबोन क्लबमाथि शानदार जित, दीपेन्द्र र भीमको शतक

आईसीसी विश्वकप लिग–२ को तयारीका लागि युके भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले लगातार दोस्रो अभ्यास खेलमा शानदार जित निकालेको छ।

शनिबार सम्पन्न खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई १२३ रनले पराजित गरेको हो। नेपाली टोलीले ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रनको विशाल योगफल बनाएको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र भीम सार्कीले शतक प्रहार गरे। दीपेन्द्रले ६७ बलमा १२ चौका र ४ छक्का सहित ११० रन बनाए भने, भीमले ९० बलमा १० चौका र २ छक्काको मद्दतमा १०४ रनको योगदान दिए। दुवै ब्याट्सम्यान ‘रिटायर्ड हर्ट’ भएका थिए।

अन्य ब्याट्सम्यानमध्ये अनिलकुमार साह २७ रनमा आउट भए भने बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे।

३३६ रनको लक्ष्य पछ्याउन उत्रिएको एमसीसीका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्। नेपालले ३५.३ ओभरमै विपक्षी टोलीलाई २१२ रनमा समेट्दै ठूलो अन्तरको जित हासिल गर्‍यो।

यसअघि पहिलो अभ्यास खेलमा नेपालले कार्डिफको न्युपोर्ट टोलीलाई तीन विकेटले पराजित गरेको थियो। उक्त खेलमा २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो।

त्यो खेलमा आरिफ शेख र गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरेका थिए। गुल्सनले सर्वाधिक ८० रन बनाए भने आरिफ शेख ७३ रनमा अविजित रहे। उनीहरूले सातौँ विकेटका लागि १३४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

नेपालले युकेमा थप एक अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली आईसीसी विश्वकप लिग–२ का महत्वपूर्ण खेलहरूका लागि मैदानमा उत्रिनेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button