दृष्टि/संवाददेशमुख्य खबर

२०७२ को विनाशकारी भूकम्पको एक दशक: पुनर्निर्माण अधुरै, पीडाको घाउ अझै ताजा

२०७२ सालको विनाशकारी भूकम्पको आज एक दशक पूरा भएको छ। तर, प्रत्येक वैशाख १२ गते नेपाली जनमानसलाई त्यस दिनको सम्झनाले अझै झस्क्याउने गरेको छ। शनिबार, वैशाख १२ गते ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ रेक्टर स्केलको भूकम्पले आठ हजार ९७९ जनाको ज्यान लिएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्था, चार सय १५ सरकारी भवन, तीन सय ८३ सुरक्षा निकायका भवन, र एक हजार ५०० पुरातात्विक एवं सांस्कृतिक सम्पदा संरचनामा क्षति पुर्‍याएको थियो।

पुनर्निर्माणमा ढिलाइ

एक दशक बितिसक्दा पनि पुनर्निर्माण प्रक्रिया अझै अधुरो छ। सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार आठ लाख ३५ हजार १८५ निजी आवास लाभग्राहीमध्ये आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता पाएका छन्। तर तेस्रो किस्ता लिनेको संख्या घट्दै सात लाख ४३ हजार २४९ मा सीमित छ।

एकाइ प्रमुख प्रकाश अर्यालका अनुसार सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँ अनुदानले घर निर्माण गर्न पर्याप्त नभएपछि धेरैले पुनर्निर्माणको कार्य थाल्न ढिलाइ गरेका छन्। साथै, लगानी अभाव, पुरातात्विक सम्पदाको पुनर्निर्माणमा स्थानीय विवाद, कच्चा पदार्थको कमी र प्रक्रिया लम्बिनेजस्ता कारणले पनि ढिलाइ भएको बताइएको छ।

हालसम्म एक हजार १२६ स्वास्थ्य भवनमध्ये तीन सय ३६ मात्र पूर्ण रूपमा निर्माण सम्पन्न भएका छन्। धरहरा पुनर्निर्माण कार्यसमेत अझै १४ प्रतिशत बाँकी रहेको एकाइले जनाएको छ।

सम्पदा पुनर्निर्माणमा चुनौती

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले आवश्यक बजेट र परम्परागत निर्माण सामग्रीको अभावका कारण सम्पदा पुनर्निर्माणमा चुनौती रहेको बताएका छन्। उनका अनुसार १,५०० सम्पदामध्ये ८१५ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भएको छ भने पाँच सय ३१ संरचनाको काम अझै बाँकी छ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले भूकम्पबाट विस्थापित नागरिकको पुनर्वास तथा संरचनाको पुनर्निर्माण कार्य प्रभावकारी रूपमा अघि नबढेको औंल्याएको छ।

सिकाइ र चुनौती

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार २०७२ सालको भूकम्पले विपद् व्यवस्थापन, संरचना मजबुतीकरण र पूर्वतयारीका विषयमा महत्वपूर्ण पाठ सिकाएको छ। भवन आचारसंहिता लागू गर्ने, खुला स्थानको आवश्यकता बुझ्ने र जनचेतनामा सुधार भएको उनले बताए।

तर, ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्कीका अनुसार भूकम्पको मानसिक प्रभाव अझै नेपाली समाजमा छ। “सानासाना पराकम्पनमा पनि मानिस अत्तालिन्छन्, यो भूकम्पले पारेको दीर्घकालीन मानसिक असर हो,” उनले बताए।

दाता सम्मेलनको सहयोग कहाँ?

२०७२ को भूकम्पपछि सरकारले दाता सम्मेलनमार्फत चार खर्ब रुपैयाँभन्दा बढीको सहयोग घोषणा गराए पनि त्यो रकम पूर्ण रूपमा प्राप्त नभएको विज्ञहरूको भनाइ छ।

भूकम्पले विशेष गरी गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चोकमा बढी क्षति पुर्‍याएको थियो।

२०७२ को भूकम्पले नेपाललाई मात्र होइन, सम्पूर्ण विश्वलाई विपद् व्यवस्थापन र पूर्वतयारीका क्षेत्रमा पाठ सिकाएको थियो। तर, पुनर्निर्माणको गतिमा भएको ढिलाइ, अनुदान वितरणमा पारदर्शिताको अभाव, र दीर्घकालीन योजनाको कमी अझै चुनौतीको रूपमा उभिएको छ। एक दशकपछि पनि नेपालीहरू अझै सम्झनाको खरानीमा घरको सपना कोर्दैछन्।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button