खेल संसार

कोलकाताविरुद्ध गुजरातको सहज जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सविरुद्ध सहज जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको गुजरातले कोलकातालाई ३९ रनले हराएको हो।

कप्तान सुभमन गिल र साई सुदर्शनको अर्धशतकमा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन बनाए। आन्द्रे रसेल २१, रिन्कु सिंह १७ र सुनील नारायण १४ रनमा आउट हुँदा अंगक्रिस रघुवंशी २७ रनमा नटआउट रहे। गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुईदुई विकेट हात पारे भने मोहम्मद सिराज, इशान्त शर्मा, वासिंटन सुन्दर र साई किशोरले एकएक विकेट लिए।

इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको गुजरातले मात्र तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो। गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए। ५५ बलको सामना गरेका उनले १० चौका र तीन छक्का हिर्काए। साई सुदर्शनले ५२ रन बनाउँदा ६ चौका र एक छक्का प्रहार गरे। उसका लागि जोश बटलरले अविजित ४१ रन जोडे।

कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेललले एकएक विकेट हात पारे। यो जितसँगै आठ खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ भने कोलकाताको समान खेलबाट ६ अंक मात्र छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button