आईपीएल २०२५: लखनउ सुपर जायन्ट्सद्वारा मुम्बई इन्डियन्स १२ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ। शुक्रबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बईलाई १२ रनले पराजित गरेको हो।
२०४ रनको लक्ष्य पछ्याएको मुम्बई ५ विकेट गुमाउँदै १९१ रनमा सीमित रह्यो। मुम्बईका लागि सूर्यकुमार यादवले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा ६ चौका र ३ छक्का सहित ६७ रनको पारी खेले। नमन धिरले २४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए भने तिलक वर्माले २३ बलमा २५ रन जोड्दा कप्तान हार्दिक पाण्डे अविजित रहँदै १६ बलमा २८ रनको योगदान दिए।
खेलमा निर्णायक प्रदर्शन लखनउका युवा बलर दिगवेश राठीको रह्यो। उनले चार ओभरमा २१ रन खर्चेर एक विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए। विशेषगरी, नमन धिरको विकेट लिँदा उनले आफ्नो पहिलो स्पेलमा तीन ओभरमा मात्र १० रन दिएर दबाब सिर्जना गरेका थिए।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनायो। मिचेल मार्सले तिब्र ब्याटिङ गर्दै ३१ बलमा ६ चौका र ४ छक्का सहित ६० रनको विस्फोटक पारी खेले। उनले आइडन म्याक्रमसँग पहिलो विकेटका लागि ७ ओभरमा ७६ रनको साझेदारी गरे। म्याक्रमले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाउँदा डेभिड मिलरले पनि १४ बलमा २७ रनको योगदान गरे।
बलिङतर्फ मुम्बईका कप्तान हार्दिक पाण्डेले ४ ओभरमा ३६ रन खर्चेर ५ विकेट लिएर टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, ब्याटिङ विभागले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा मुम्बई पराजित भयो।
खेलपछि अंक तालिकामा लखनउ चार अंकसहित छैटौँ स्थानमा उक्लिएको छ भने मुम्बई इन्डियन्स दुई अंकसहित सातौँ स्थानमा कायम रहेको छ। रोहित शर्मा यस खेलमा टोलीमा नसमावेश हुँदा मुम्बई थप दबाबमा परेको देखिएको छ।


