अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले पराजित गर्दै निकाल्यो सनसनीपूर्ण जीत

विश्वकप २०२६ को छनोट चरण अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ। हालै विश्वकप २०२६ मा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गर्दै ऐतिहासिक जित निकालेको हो।
खेलको चौथो मिनेटमै जुलियन अल्भारेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। त्यसपछि १२ औं मिनेटमा एन्जो फर्नान्डेजले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। ब्राजिलका लागि २६ औं मिनेटमा म्याथ्यु चन्हाले एक गोल फर्काए।
पहिलो हाफमै एलेक्सिस म्याक एलिस्टरले ३७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको पकड बलियो बनाए। ७१ औं मिनेटमा जियोलियानो सिमोनीले चौथो गोल गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाए।
यस जितपछि अंक तालिकामा अर्जेन्टिना ३१ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा २३ अङ्कसहित इक्वेडर, तेस्रो स्थानमा २१ अङ्कसहित उरुग्वे, चौथो स्थानमा २१ अङ्कसहित ब्राजिल, पाँचौँ स्थानमा २१ अङ्कसहित पाराग्वे र छैटौँ स्थानमा २० अङ्कसहित कोलम्बिया रहेका छन्।
त्यस्तै बुधबार बिहानको अर्को खेलमा पाराग्वे र कोलम्बियाले २-२ गोलको बराबरी खेलेका छन्।


