खेल संसार

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आशुतोष शर्मा म्यान अफ द म्याच

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा दिल्लीले लखनउ सुपर जाइन्ट्सलाई एक विकेटले पराजित गरेको हो। २१० रनको लक्ष्य पछ्याएको दिल्लीले तीन बल बाँकी रहँदै ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

दिल्लीका लागि आशुतोष शर्माले अविजित रहँदै ३१ बलमा ६६ रनको उत्कृष्ट इनिङ खेले। उनले ५ चौका र ५ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। विपराज निगमले पनि आक्रामक प्रदर्शन गर्दै १५ बलमा ३९ रन जोडे। दिल्लीको सुरुवात खराब रहेको थियो, जसअनुसार पहिलो दुई बलमै दुई विकेट गुमाएको टोलीले ७ रनमै तेस्रो विकेट गुमाएको थियो।

कप्तान अक्षर पटेल र उपकप्तान फाफ डु प्लेसिसले चौथो विकेटका लागि ४३ रनको साझेदारी गरे। ६५ रनको अवस्थामा पाँचौँ विकेट गुमाएको दिल्लीले १३ औँ ओभरमा ट्रिस्ट्यान स्टब्सलाई छैटौँ विकेटका रूपमा गुमाएपछि पराजयको सम्भावना देखिएको थियो। तर, सोही समयमा निगम र शर्माले सातौँ विकेटका लागि ५५ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टिमलाई जिततर्फ अघि बढाए।

लखनउका बलरमध्ये शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगवेश राठी र रवि विश्नोइले समान दुईदुई विकेट लिए। लखनउले पावर प्लेमा नै कम अनुभवी स्पिनर सिद्धार्थ र राठीलाई प्रयोग गर्दा सफलता प्राप्त गरे पनि विश्नोइ महँगा सावित भए। उनले चार ओभरमा ५३ रन खर्चेका थिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले आठ विकेट गुमाएर २०९ रन बनाएको थियो। लखनउका लागि मिचेल मार्सले ३६ बलमा ७२ रन तथा निकोलस पुरनले ३० बलमा ७५ रन प्रहार गरे। यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए।

कुनै समय लखनउले २४० रन पार गर्ने सम्भावना देखिए पनि कुलदिप यादवले किफायती बलिङ गर्दै चार ओभरमा २० रन खर्चेर दुई विकेट लिए। मिचेल स्टार्कले चार ओभरमा ४२ रन खर्चिएर तीन विकेट झारे।

मार्स र पुरन आउट भएपछि डेभिड मिलरले अविजित रहँदै १९ बलमा २७ रन जोडे, तर अन्य ब्याट्सम्यान असफल भए। यो जितसँगै दिल्ली क्यापिटल्सले आईपीएल २०२५ को सानदार सुरुवात गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button