No Image Headlineअर्थमुख्य खबर

नेपालमा ६४ प्रकारका खनिज पहिचान, उपयोग किन हुन सकेन ?

युक्रेन र अमेरिकाबीच खनिज स्रोतसम्बन्धी सम्झौताबारे चासो बढिरहेका बेला नेपालमा पनि युक्रेनमा जस्तै खनिज पदार्थ छन् कि छैनन् भन्ने जिज्ञासा उत्पन्न भएको छ।

नेपालको खानी तथा भूगर्भ विभाग र विज्ञहरूका अनुसार नेपालमा आर्थिक रूपमा फाइदा लिन सकिने खनिज पदार्थ उल्लेख्य मात्रामा छन्। तर, तिनको पर्याप्त अध्ययन, अनुसन्धान र सदुपयोग हुन सकेको छैन।

खनिज अध्ययनमा सीमित प्रगति

नेपाल भौगर्भिक समाजका भूतपूर्व अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका उपप्राध्यापक डा. कविराज पौड्यालका अनुसार नेपालमा धातुजन्य खनिजहरूको सिमित उत्खनन भए पनि अधातुजन्य खनिजमा आर्थिक सम्भावना उच्च छ।

चुनढुङ्गाको उत्खननबाट नेपाली सिमेन्ट उद्योगहरूले स्वदेशी क्लिङ्कर प्रयोग बढाएका छन्, तर अन्य अधातुजन्य खनिजहरूको उत्खनन भने प्रभावकारी रूपमा हुन सकेको छैन।

खनिज अध्ययन तथा अनुसन्धानका लागि जिम्मेवार खानी तथा भूगर्भ विभागले विभिन्न खनिज स्थानहरूको पहिचान गरे पनि प्राविधिक दक्षता, उपकरणको अभाव, बजेटको सीमितता र कानुनी जटिलताका कारण विस्तृत अध्ययन गर्न कठिनाइ भइरहेको छ।

विभागका अनुसार हालसम्म नेपालमा आर्थिक सम्भावना हुने ६४ प्रकारका खनिज पहिचान भएका छन्। तिनमा धातु खनिज, अधातु औद्योगिक खनिज, रत्न तथा पत्थर, निर्माण सामग्री र इन्धन खनिजसमेत छन्।

धातु खनिजमा सुन, चाँदी, फलाम, तामा, जस्ता, लिथियम, युरेनियम, टाइटेनियम, टङ्स्टन जस्ता तत्त्व छन्। अधातु औद्योगिक खनिजतर्फ ग्रेफाइट, डोलोमाइट, माइका, फस्फोराइट, सिलिका स्यान्ड आदि पहिचान भएका छन्।

रत्न तथा पत्थरतर्फ अक्वामरिन, रुबी, टुर्मलिनजस्ता खनिजहरू उच्च हिमाली क्षेत्रमा फेला परेका छन् भने इन्धन खनिजतर्फ कोइला, प्राकृतिक ग्यास, जिओथर्मल हट स्प्रिङलगायतका सम्भावना देखिएको छ।

नेपालमा रेअर अर्थ खनिजको सम्भावना

युक्रेनमा रेअर अर्थ खनिज पदार्थ प्रशस्त मात्रामा पाइने चर्चा भइरहेका बेला नेपालमा पनि यस्ता दुर्लभ खनिज छन् कि छैनन् भन्ने प्रश्न उठेको छ।

खनिज विभागका अधिकारीहरूका अनुसार नेपालमा सन् १९८० को दशकमा रेअर अर्थ तत्त्वबारे केही अध्ययन गरिएको थियो, तर प्रविधि उन्नत भइसकेका अहिलेको अवस्थामा विस्तृत अध्ययन हुन बाँकी छ।

उपप्राध्यापक पौड्यालका अनुसार नेपालमा प्रशस्त मात्रामा पाइने ग्रेनाइटमा रेअर मिनरलहरू हुने सम्भावना छ, तर सूक्ष्म अध्ययन गर्न आवश्यक छ। नेपालमा सिलिका पनि फेला परेको छ, जुन सेमिकन्डक्टर उत्पादनका लागि महत्त्वपूर्ण हुन्छ।

युरेनियम उत्खननमा सुरक्षाको चासो

नेपालमा युरेनियमको पनि सम्भावना देखिएको छ। मुस्ताङ, मकवानपुर, बैतडी, मनाङ र गोरखा जिल्लाका विभिन्न स्थानमा युरेनियमको उपस्थिति संकेत गरिएको छ।

लोमान्थाङ क्षेत्रमा सम्भावित युरेनियम खानीलाई नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको छ। युरेनियम उत्खननका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (IAEA) का मापदण्डहरू पूरा गर्नुपर्ने भएकाले नेपालले नयाँ कानुन बनाउनुपर्ने आवश्यकता देखिएको छ।

खनिज उत्खनन किन प्रभावकारी हुन सकेन?

नेपालमा खनिज उत्खनन र उपयोग प्रभावकारी हुन नसकेको मुख्य कारणमध्ये उच्च राजनीतिक तहमा पर्याप्त जानकारीको अभाव रहेको विज्ञहरूको भनाइ छ।

उपप्राध्यापक पौड्यालका अनुसार विदेशी लगानी सहज बनाउन कानुनी तथा संरचनागत सुधार आवश्यक छ। खनिज उत्खननको प्रारम्भिक चरणमा ठूलो लगानी र समय आवश्यक पर्ने भएकाले निजी क्षेत्रको संलग्नता कम देखिएको उनको भनाइ छ।

नेपालमा खनिज स्रोतहरूको प्रचुर सम्भावना रहे पनि अनुसन्धान, प्राविधिक दक्षता, लगानी र नीति निर्माणको अभावमा तिनको उपयोग गर्न चुनौती कायमै रहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button