मुनलाईट स्कुलले उचाल्यो नेपाल मेडिसिटी इन्टर स्कुल क्रिकेटको उपाधि

प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी इन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट स्कुलले जितेको छ। नारायणी क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा विद्यासागर स्कुललाई १७ रनले पराजित गर्दै मुनलाईट स्कुलले उपाधि उचालेको हो।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुनलाईट स्कुलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको लक्ष्य प्रस्तुत गर्यो। टिमका लागि सेराज हवारीले ३२ बलमा ४९ रनको उत्कृष्ट प्रदर्शन गरे। ११४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको विद्यासागर स्कुल २० ओभर खेल्दै ८ विकेट गुमाएर ९६ रनमै समेटियो।
प्रतियोगितामा सेराज हवारीले प्लेयर अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, र उत्कृष्ट बलरको उपाधि जित्दै तीन विधागत उपाधि आफ्नो नाममा लेखाए। उत्कृष्ट फिल्डर दिलरन्जन यादव घोषित भए भने उत्कृष्ट विकेट किपर अनुप कुवर भए। विद्यासागर स्कुलका जुनैद आलम इमर्जिङ प्लेयर घोषित भए।
समापन समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा विजयी टिमहरूलाई पुरस्कार वितरण गरियो। प्रथम हुने मुनलाईट स्कुलले १५ हजार नगदसहित शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता विद्यासागर स्कुलले १० हजार नगद र तृतीय स्थान हासिल गरेको साउथ जोन स्कुलले ५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
सो अवसरमा पूर्व वन तथा वातावरण मन्त्री बिरेन्द्र प्रसाद महतो, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, जिल्ला शिक्षा समन्वय इकाई पर्साका प्रमुख मोतिप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको उपस्थिती रहेको थियो।


