नटिङघम फरेस्टको संघर्षपूर्ण जित, प्रिमियर लिग तालिकामा तेस्रो स्थान कायम

इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको रोमाञ्चक खेलमा नटिङघम फरेस्टले साउथह्याम्प्टनलाई ३–२ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।
नटिङघम फरेस्टले खेलको पहिलो हाफमै प्रभावशाली प्रदर्शन गर्दै ३–० को अग्रता लिएको थियो। खेलको ११ औं मिनेटमा एलियट एन्डरसनले पहिलो गोल गरे। त्यसपछि २८ औं मिनेटमा कालुम हडसनले गोल गर्दै फरेस्टको अग्रता दोब्बर बनाए। क्रिउ उडले ४१ औं मिनेटमा तेस्रो गोल थपे, जसले यो सिजनमा उनका १४ गोल पुरा गर्यो।
साउथह्याम्प्टनको संघर्ष
दोस्रो हाफमा साउथह्याम्प्टनले खेलमा पुनः फर्किने प्रयास गर्यो। खेलको ६० औं मिनेटमा जन बडनारेकले गोल गर्दै साउथह्याम्प्टनलाई खेलमा ल्याए। इन्जुरी समयको पहिलो मिनेटमा पाउल ओनारचुले अर्को गोल थपे। त्यसपछि नटिङघम फरेस्ट दबाबमा परेको भए पनि साउथह्याम्प्टनको अस्वाभाविक कमब्याकलाई रोक्दै जित सुनिश्चित गर्यो।
यो जितसँगै नटिङघम फरेस्ट ४४ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ। दोस्रो स्थानमा रहेको आर्सनलसँग पनि ४४ अंक नै छ, तर गोल अन्तरका कारण आर्सनल अघि छ। शीर्ष स्थानमा रहेको लिभरपुलको ५० अंक छ।
अन्य खेलको नतिजा
आइतबारकै अन्य खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले तथा एभरटनले टोटनह्यामलाई ३–२ ले पराजित गरे।
यो जितपछि नटिङघम फरेस्टले आफ्नो शीर्ष स्थानका प्रतिस्पर्धीसँगको दूरी घटाए पनि, आगामी खेलहरूमा निरन्तरता कायम गर्नुपर्ने दबाब अझै बाँकी छ।


