प्रिमियर लिगमा लिभरपुललाई पछ्याउँदै आर्सनल

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । बुधबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डमाथि ३–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।
यो जीतसँगै आर्सनलले शीर्ष स्थानका लिभरपुललाई पछ्याउने आफ्नो आशा जिवितै राखेको छ । आर्सनल अहिले लिभरपुलभन्दा ६ अंकले पछि छ । तर लिभरपुलले आर्सनल भन्दा एक खेल भने कम खेलेको छ ।
आर्सनलको १९ खेलबाट ३९ अंक हुँदा पराजित भएको ब्रेन्टफोर्ड २४ अंकका साथ १२ औं स्थनमा छ । ब्रेन्टफोर्डको घरेलु मैदानमा ब्रेन्टफोर्डले ब्रायन एम्ब्युमोको गोलमार्फत अग्रता लिएको थियो ।
१३ औं मिनेटमा ब्रेन मेबुमोले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए । आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

२९ औं मिनेटमा ग्याब्रिएल जेससले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो ।
५० औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि पाहुना टोली आर्सनलले अग्रता २–१ बनायो । ५३ औं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले गोल गरेपछि ३–१ ले अघि बढेको थियो । सोही अग्रता अन्तिमसम्म कायम राख्दै आर्सनलले तालिकामा ३ अंक थप्न सफल भयो ।
आर्सनलका प्रमुख प्रशिक्षक मिकेल आर्टेटाले खेलअघि भाइरसको संक्रमणको समस्या रहेको बताएका थिए । खेलमा १७ वर्षीय इथान नवानेरीले आफ्नो पहिलो प्रिमियर लिग खेल खेले । उनले बुकायो साकाको स्थानमा खेल्दै प्रभावशाली प्रदर्शन गरे ।


