१३ वर्षीय वैभव सूर्यवंशी आइपिएल इतिहासकै कान्छो खेलाडी, वार्नर र ठाकुर अनसोल्ड

आइपिएलको दुई दिने मेघा अक्सनले १० टोलीलाई पूर्णता दिएको छ। अक्सनको दोस्रो दिनले युवा प्रतिभा, महँगा अनुबन्ध र अनपेक्षित परिणामका कारण विशेष ध्यान तान्यो।
बिहारका १३ वर्षीय वैभव सूर्यवंशी आइपिएल इतिहासमै सबभन्दा कान्छो खेलाडी बनेका छन्। १३ वर्ष २४३ दिनका सूर्यवंशीलाई राजस्थान रोयल्सले १.१ करोड भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ। भारतीय यू–१९ टोलीका सदस्य रहेका उनले अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा पारीको सुरुवात गर्दै शतक प्रहार गरेर सबैको ध्यान खिचेका थिए। ३० लाख बेस प्राइस भएका उनलाई दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गरेका थिए।
आइपिएलमा सर्वाधिक रन बनाउने विदेशी खेलाडी डेभिड वार्नर लगातार दोस्रो दिन पनि अनसोल्ड रहे। ३८ वर्षीय वार्नर ‘एक्सिलरेटेड’ राउन्डमा समेत कुनै टोलीको रुचिमा परेनन्। यस्तै, भारतीय खेलाडी शार्दूल ठाकुर पनि २ करोड बेस प्राइसका बाबजुद अनसोल्ड रहे। भारतीय खेलाडीको दबदबाबीच उनी र अन्य चर्चित खेलाडी पृथ्वी शा, जोनी बारिस्टो र डारियल मिचेल टोलीबिहीन रहे।
युवा खेलाडी प्रियांश आर्यलाई धेरै टोलीको चासो रह्यो। दिल्ली क्यापिटल्स, पन्जाब किङ्स र आरसीबीबीचको प्रतिस्पर्धापछि पन्जाबले उनलाई ३.८ करोड रुपैयाँमा अनुबन्ध गर्यो। दिल्ली प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका आर्य हरेक बलमा आक्रमण गर्ने शैलीका कारण चर्चित छन्।
दोस्रो दिन पनि भारतीय खेलाडी महँगो साबित भए। पेस बलर भुवनेश्वर कुमारलाई आरसीबीले १०.७५ करोड रुपैयाँमा अनुबन्ध गर्यो। मुम्बई इन्डियन्सले दीपक चाहरलाई ९.२५ करोडमा र लखनउ सुपरजायन्ट्सले आकाश दीपलाई ८ करोडमा टोलीमा भित्र्याए।
दक्षिण अफ्रिकी अलराउण्डर मार्को जेन्सनलाई पन्जाब किङ्सले ७ करोडमा अनुबन्ध गर्यो। राजस्थान रोयल्सले तुलसार देस पाण्डेलाई ६.५० करोडमा र आरसीबीले स्पिन अलराउण्डर क्रुनाल पाण्डेलाई ५.७५ करोडमा भित्र्यायो।
यस वर्षको अक्सनले युवा खेलाडीलाई अवसर दिँदै केही अनुभवी खेलाडीलाई अनदेखा गरेको छ। भारतीय प्रतिभाको महत्त्वले आइपिएलमा घरेलु खेलाडीको भूमिका अझ बलियो बनाएको छ।


