भारतीय खेलाडीले तोडे आइपिएल अक्सनको कीर्तिमान: ऋषभ पन्त सबैभन्दा महँगा खेलाडी

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनको पहिलो दिन भारतीय खेलाडीहरूले महँगो मूल्यमा टोलीमा स्थान बनाएका छन्। आइतबार साउदी अरेबियाको जेदाहमा सम्पन्न मेघा अक्सनमा विभिन्न टोलीले ठूलो लगानी गरेका छन्।
लखनउ सुपर जेन्ट्सले ऋषभ पन्तलाई २७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गर्दै आइपिएल इतिहासकै महँगो खेलाडी बनाए। यसअघि यो कीर्तिमान मिचेल स्टार्कको नाममा थियो, जसलाई २०२४ मा कलकत्ता नाइटराइडर्सले २४.७५ करोडमा अनुबन्ध गरेका थिए।
पन्जाब किङ्सले श्रेयास ऐयारलाई २६.७५ करोड भारतीय रुपैयाँमा टोलीमा आबद्ध गर्दै अर्को ठूलो लगानी गरे। ब्याटिङ अलराउन्डर बंकटेस ऐयारलाई २३.७५ करोड भारतीय रुपैयाँमा कलकत्ता नाइटराइडर्सले अनुबन्ध गर्दा सबैलाई आश्चर्यमा पारे।
रिटेन खेलाडी र नयाँ अनुबन्ध
कलकत्ताले यसअघि रिंकु सिंहलाई १३ करोड भारतीय रुपैयाँमा रिटेन गरेको थियो, जसले टोलीमा सबैभन्दा महँगो रिटेन खेलाडीको स्थान बनाएका थिए। अन्य रिटेन खेलाडीमा सुनिल नारायण, वरुण चक्रवर्ती, र आन्द्रे रसेललाई १२ करोड भारतीय रुपैयाँमा टिममा राखिएको थियो।
युजभेन्द्र चहल अक्सनको अर्को चासोका पात्र बने। उनलाई पन्जाब किङ्सले १८ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरे, जहाँ अन्य पाँच क्लबले पनि चासो देखाएका थिए।
पन्जाब किङ्सकै अर्को महत्त्वपूर्ण अनुबन्ध आर्शदीप सिंह रहे। उनी पनि १८ करोड भारतीय रुपैयाँमा बिक्री भए। आर्शदीपको बोलकबोल दुई करोडबाट सुरु भएको थियो।
यस सिजनको आइपिएल अक्सन भारतीय खेलाडीहरूको दबदबा देखिएको छ। महँगो मूल्यमा टोलीमा अनुबन्ध हुनुले उनीहरूको खेल कौशलमा रहेको विश्वास झल्किएको छ।


