खेल संसार

राफेल नाडालको खेल जीवनको अन्त्य: डेभिस कपमा पराजयसँगै बिदाइ

टेनिसका महान खेलाडी राफेल नाडालले खेल जीवनको अन्तिम प्रतियोगितामा पराजय सामना गरेका छन्। स्पेनको मालागामा आयोजित डेभिस कपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध स्पेन पराजित भएपछि नाडालले आफ्नो करियरको अन्त्य घोषणा गरेका हुन्।

२२ पटकका ग्रान्ड स्लाम विजेता नाडाल ३८ वर्षको उमेरमा टेनिसको टिम इभेन्ट खेल्दै बिदा भए। वेस्ट अफ थ्री फर्म्याटअन्तर्गतको पहिलो खेलमा उनले नेदरल्यान्ड्सका बोस्टिन भान डे गान्डसचपसँग ६–४, ६–४ को हार व्यहोरे।

स्पेनका कार्लोस अल्कारेजले दोस्रो खेलमा टालन ग्रिक्सपोरलाई ७–६, ६–३ ले पराजित गर्दै टिमको आशा जगाए पनि निर्णायक युगल खेलमा नेदरल्यान्ड्सको गान्डसचप र वेस्ली कोलहफको जोडीले अल्कारेज र ग्रानोलर्सको जोडीलाई ७–६, ७–६ ले पराजित गरे। यस हारले स्पेनको यात्रा टुंगियो।

नाडालले बिदाइको क्रममा आँसुका साथ भने, “मैले जीवनमा धेरै उपाधि जितेँ, तर मालोर्काको एउटा सानो गाउँमा जन्मेर राम्रो मान्छे बन्न सकेँ कि सकिनँ भन्ने कुरा नै प्रमुख हो” उनले कठिन सपना पनि पूरा गरेको बताउँदै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिए।

११ हजार ५०० दर्शक क्षमताको पालासिटो डे डेपोर्टो एरेनामा नाडालको अन्तिम खेल हेर्न दर्शकको भीड लागेको थियो। खेल समाप्तिमा दर्शकले उठेर नाडाललाई सम्मान व्यक्त गरे। परिवारसहित उपस्थित नाडालको विदाई समारोहमा रोजर फेडरर, नोभाक जोकोभिक, सेरेना विलियम्स, एन्डी मुरे, डेभिड बेक्ह्याम, अन्द्रेइ इनेस्टा, राउल गोन्जालेज लगायतका विश्वभरका खेलाडीले भिडियो सन्देशमार्फत् शुभकामना दिए।

क्ले कोर्टका बादशाह मानिने नाडालले फ्रेन्च ओपनमा १४ पटक उपाधि जितेका छन्। उनले चार यूएस ओपन, दुई अस्ट्रेलियन ओपन, र दुई विम्बल्डन जित्दै २२ ग्रान्ड स्लाम उपाधि आफ्नो नाम गरेका थिए। स्पेनका लागि चार पटक डेभिस कप र ओलम्पिक स्वर्ण जित्न सफल नाडालको करियरलाई सधैं सम्झिइनेछ। “राफा, राफा” भन्दै गुञ्जिएका ती क्षणहरूले स्पेन र विश्वभरका टेनिसप्रेमीका लागि नाडालको योगदान अमिट रहने संकेत गरे।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button