No Image Headlineदेश

निक्षेप र कर्जा दुवैको ब्याजदर घट्यो, किन बढेन कर्जाको माग ?

Thrill Factory
Rungta Group

बैंक, वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएपछि निक्षेपसँगै कर्जाको ब्याजदर घट्दो क्रममा देखिएको छ । निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह नहुँदा निक्षेपको ब्याजदर घटाएपछि बैंकहरूको आधारदर कम भई कर्जा पनि सस्तो भएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को फागुनमा बैंकहरूको निक्षेपसँगै आधारदर पनि एकल अंकमा झरेको छ । फागुनमा वाणिज्य बैंकहरूको साधारण बचतको ब्याजदर औसतमा ४ दशमलव १ प्रतिशत कायम हुँदा मुद्दतीको पनि ९ दशमलव २२ प्रतिशतमा झरेको छ ।

बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि फागुनमा वाणिज्य बैंकहरूको औसत आधारदर पनि ८ दशमलव ७७ प्रतिशतमा झरेको छ । बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्ने व्यवस्थाअनुसार कर्जाको ब्याजदर पनि सस्तो हुँदै गएको छ ।

तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले चालू आव २०८०/८१ को साउनदेखि भद्र सहमतिको परम्परा अन्त्य गर्दै आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसयता असोजसम्म केही वृद्धि भए पनि त्यसपछि ब्याजदर घट्ने क्रममा देखिएको छ ।

ब्याजदर निर्धारणसम्बन्धी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साबिकको ब्याजदरमा १० प्रतिशत मात्र घटबढ गर्न पाउँछन् । यस्तै बैंकहरूले हरेक महीना लागू हुने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, राष्ट्र बैंकले नीतिगत दर परिवर्तन गरेमा जुनसुकै बेला ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था छ ।

बिहीवारसम्ममा बैंक, वित्तीय संस्थाहरूले ६१ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।  गत मंगलवारबाट अर्थ मन्त्रालयले राष्ट्र बैंकमार्फत बैंकहरूलाई स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने व्यवस्था हटाएसँगै करीब १ खर्ब रुपैयाँ निक्षेप घटेको छ ।

निक्षेप घटेसँगै औसत अन्तरबैंक ब्याजदर पनि ४ दशमलव ४९ प्रतिशत पुगेको छ । यस्तै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ८० दशमलव ८८ प्रतिशतमा पुगेको राष्ट्र बैंकले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button