No Image Headlineदेशमुख्य खबर

यस कारण तराईमा तीन दिन होली, मासिँदै संस्कृति

Patanjali Nepal
Sweet Mart Food

सरकारी क्यालेन्डर अनुसार फागु पर्व अर्थात् होली यस वर्ष पहाडमा आइतबार र तराई–मधेसमा सोमबार मनाइन्छ । सरकारले त्यही अनुसार पहाडी क्षेत्रमा आइतबार र मधेसमा सोमबार बिदा दिएको छ ।

केही वर्षदेखि मधेसमा आफ्नो सुविधा अनुसार पर्व मनाइरहेका छन् । यसपाली मधेसमा सोमबार, मंगलबार, बुधबार पनि होली मनाइने भएको छ । त्यसैले कतिपय पालिकाले होलीका अवसरमा भन्दै एक सातासम्म विद्यालयमा बिदा दिएका छन् ।

संस्कृतिविद् रोशन जनकपुरी भन्छन्, मधेसमा केही वर्ष यता मानिसहरूले आफ्नो सुविधा अनुसार होली मनाउन थालेका छन् । संस्कृति, परम्पराप्रतिको चेतनाको कमीले यस्तो भएको हो । उनका अनुसार कसैले आफ्नो व्यापार अनुसार होली मनाउने गरेका छन्, कसैलाई माछामासु खानु छ भने त्यो अनुसार होली मनाउँछन् भने कसैले परम्परा अनुसार मनाउँछन् ।

संस्कृतिविद् जनकपुरीले भने, पहाडमा पूर्णिमाको दिन होली मनाउँछन् भने त्यसको भोलिपल्ट मधेसमा होली मनाउने चलन छ तर पछिल्लो समय त्यो सेड्युल भत्किएको छ । मधेसमा धेरै ठाउँमा सोमबार होली मनाइँदै छ भने जनकपुर र त्यस आसपास मंगलबार र बुधबार पनि होली मनाउने देखिएको छ ।

सोमबार र मंगलबार माछामासु नखाने व्यक्तिहरूले बुधबार होली मनाउने योजना बनाएका छन् । यद्यपि यसपटक मधेसका अधिकांशले मंगलबार नै होली मनाउने जनकपुरीले बताए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पनि जनकपुरमा मंगलबार नै होली मनाउने बताए ।

मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले अब होली संस्कृति परम्पराभन्दा पनि खानपानमा सीमित भएको टिप्पणी गरे । उनले भने, ‘होलीको परम्परा समाप्त भइसकेको छ, यो खानपानमा सीमित भएको छ, जुन चिन्ताको विषय हो ।’

मधेसमा १५ दिने परिक्रमाको आधारमा होली मनाउने चलन छ । पूर्णिमाको एक दिन पहिले परिक्रमा जनकपुर आइपुग्छ, त्यो दिन अन्तरगृह परिक्रमा हुन्छ र त्यसको भोलिपल्ट मात्र होली खेल्ने चलन रहेको कापडीले बताए । परिक्रमाको आधारमा होली खेल्ने चलन परम्परादेखि चल्दै आएको हो, चाहे जुनसुकै दिन, जुनसुकै मिति किन नहोस्, परिक्रमा फर्केको पर्सिपल्ट होली मनाउने चलन रहेको उनको भनाइ छ ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला र जनकपुरको रत्नसागर तथा अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको सुरुवात हुन्छ । नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १२० किलोमिटर दूरी परिक्रमा गरेर आइतबार व्रतालुहरू जनकपुर आइपुग्दै छन् ।

सोमबार अन्तरगृह परिक्रमा भएपछि मंगलबार होली मनाउनु पर्ने हो तर मंगलवार पनि माछा मासु नखाने, व्रत बस्नेहरूले बुधबार होली मनाउने भन्ने सुनिएको अध्यक्ष कापडीले बताए । हरेक कुरालाई मान्छेले आफ्नो सुविधा अनुसार प्रयोग गर्न थालेको टिप्पणी गर्दै उनले यसले गर्दा तराई मधेसका परम्परा हराउँदै गएको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीका अनुसार जनकपुरमा होलीका बारेमा धेरै अन्योल छ । उनले भने, म व्यक्तिगत रूपमा भने क्लियर छु । पहाडमा फागु होलिका दहनका दिन मनाइन्छ भने मधेसमा भोलिपल्ट ।

मासु खानेहरूका लागि त ३६५ दिन नै खुला रहेको टिप्पणी गर्दै उनले भने, चाडपर्व भनेको एउटा पहिचान हो र त्यसलाई जगेर्ना गर्नु सबैको कर्तव्य पनि हो, यसको मतलब यो होइन कि चाडपर्वको नाममा जे मन लाग्यो त्यही गर्ने ।

जानकी मन्दिरका महन्थ रामरोशन दासले मधेसमा मंगलबार होली मनाउन अपिल गरेका छन् । उनले भने, यसमा कुनै विवाद नै छैन, आइतबार परिक्रमा जनकपुर आइपुग्छ, सोमबार अन्तरगृह परिक्रमा गरेपछि मंगलबार होली मनाइन्छ ।

उनका अनुसार होली माछामासु खाने पर्व होइन । यो पर्वमा खीर, पुरी, पुवालगायत अन्य मिष्ठान्न खाने चलन रहेको उनले बताए । होलीमा माछुमासु, रक्सी खाने चलन जबर्जस्ती ल्याइएको भन्दै उनले यसैका आधारमा होलीको परम्परालाई बिगार्ने खेल भइरहेको आरोप लगाए । मंगलबार माछामासु खान हुँदैन भनेर होलीलाई बुधबार सार्ने तर्क नै कुतर्क रहेको उनले बताए । यसमा आफूले केही टिप्पणी नगर्ने उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button