अन्तराष्ट्रिय

मस्को कन्सर्ट हलमा आतङ्कवादी आक्रमण, कम्तीमा ६० को मृत्यु

Thrill Factory
Rungta Group

रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ।

अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएको छ। दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको थियो।

रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ। रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’ लाई निन्दा गर्न त्यसअघि विश्वलाई अपिल गरेको थियो।

अमेरिकामा ह्वाइट हाउसका प्रवक्ताले पनि गोलीकान्डका पीडितहरूप्रति आफ्नो सहानुभूति रहेको जनाएको छ। ह्वाइट हाउसले आफूले रुसी अधिकारीहरूलाई मार्चको सुरुवातमा मस्कोमा ठूला भीडहरूमा निशाना बनाउँदै आक्रमण हुनसक्ने चेतावनी दिएको उल्लेख गरेको छ। फ्रान्स, स्पेन र इटलीले पनि आश्चर्य प्रकट गर्दै हमलाको निन्दा गरेका छन्।

इस्लामिक स्टेटको एउटा भातृ सङ्गठले मस्कोमा भएको आक्रमणमा आफ्नो हात रहेको जनाएको छ। यदि त्यो सत्य प्रमाणित भएमा, इस्लामवादी उग्रवादीहरूले रुसभित्र वा रुसलाई निशाना बनाएर गरेको यो पछिल्लो हमला हुनजान्छ।

सन् २०१५ मा इजिप्टको साइनाइ मरुभूमिमा २२४ जना यात्रु सवार एउटा रुसी विमानलाई खसालिएको थियो। २२४ जना सवार उक्त विमानमा अधिकांश यात्रु रुसी थिए। इस्लामिक स्टेटले सो आक्रमणको जिम्मा लिएको थियो र पछि उसले विस्फोटक सामाग्रीको फोटोसमेत सार्वजनिक गरेको थियो।

सन् २०१७ मा सेन्ट पिटर्सबर्गको मेट्रोमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको थियो। सो हमलामा पनि उक्त उग्रवादी समूह जोडिएको थियो। उग्रवादी समूहहरू रुसी सुरक्षा बलसँग नर्थ कोकसस क्षेत्रमा दशकौँदेखि लड्दै आएका छन्।

१० वर्षअघि इस्लामिक स्टेट समूह गठन हुँदा उनीहरूमध्ये ठूलो सङ्ख्या त्यसमा आबद्ध हुन सिरिया गएका थिए। रुसको नर्थ कोकससमा रहेका केही उग्रवादीहरूले उक्त समूहसँगको आफ्नो आबद्धता घोषणा गरेका छन्।

तर मस्को नजिकैको कन्सर्ट स्थलमा भएको आक्रमणको जिम्मेवारी आईएसआईएस(के अर्थात् इस्लामिक स्टेट इन खोर्सानले लिएको छ। खोर्सान एउटा पुरानो शब्द हो जसले इरान, तुर्किमिनिस्तान र अफगानिस्तानका कतिपय क्षेत्रहरू जनाउँछ।

प्रतिआतङ्कवादका विज्ञहरूले रुसलाई आईएसआईएस केले बारम्बार निशाना साँध्ने गरेको र राष्ट्रपति पुटिनलाई आफ्ना प्रोपगान्डा सामाग्रीमा आलोचना गर्ने गरेको बताउने गरेका छन्। उक्त समूहले क्रेम्लिनले मुसलमान व्यक्तिहरूमाथि चेचेन्या र सिरिया अनि सोभियतकालीन अफगानिस्तानमा अत्याचार गरेको आरोप लगाउने गरेको पाइन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button