No Image Headlineदेश

गृहमन्त्री रबि लामिछानेको विषयमा कांग्रेसले ‘अनावश्यक राजनीति’ गरेको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री रवि लामिछानेको विषयमा अनावश्यक राजनीति नगर्नू भन्दै नेपाली कांग्रेसलाई प्रतिनिधिसभाको बैठक निर्बाध सञ्चालन गर्न दिन आग्रह गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगीमा जोडिएको भन्दै संसद्‌मा चर्को विरोध गर्दै आएको छ।

हालसम्मको अनुसन्धानले वहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन, लामिछानेको प्रतिरक्षा गर्दै प्रधानमन्त्री दाहालले भने।

लामिछानेको विषय मिडिया ट्रायलका रूपमा विगतमा समेत चर्चा हुँदै आएको भन्दै प्रधानमन्त्रीले यस पटक आफूले गम्भीर रूपमा खोजबिन र अध्ययन गरेको दाबी गरे। प्रधानमन्त्रीले उक्त विषय लामिछाने सरकारमा आउनुअघिको रहेको भन्दै कांग्रेसले त्यसमा राजनीतिकरण गरेको आरोप लगाए।

रवि लामिछानेजीको पार्टी सरकारमा सहभागी हुने चर्चा चलेपछि, सरकारमा सहभागी भएपछि यो विषयलाई संसद्को नियमित कामकारबाही प्रभावित हुने गरी उठाउनु कति जायज छ या छैन भन्ने विषय स्वयं प्रतिपक्षी दलका माननीय सदस्यहरूले बुझ्नुपर्ने विषय हो भन्ने मैले ठानेको छु।

पोखराको सूर्यदर्शन सहकारीका १,००० भन्दा बढी बचतकर्ताले यस वर्षको साउनमा दिएको दरखास्त कसैको नाम नकिटिएको बताउँदै प्रचण्डले प्रहरीले अनुसन्धानपछि १९ जनाविरुद्ध प्रहरीले असोज १८ गते मुद्दा दायर गरेको बताए। त्यस क्रममा चार जना पक्राउ परिसकेको उनले जनाए।

तर मूल उजुरीको छ महिनापछिको पूरक जाहेरीमा लामिछानेको नाम उल्लेख गरिए पनि आधार प्रमाण नदेखिएपछि जाहेरी प्रहरीले दर्ता नगरेको प्रधानमन्त्रीले बताए। उनले लामिछानेका नाममा प्रवाह भएको ऋण फर्स्यौट भइसकेको समेत देखिएको जनाए।

यदि अनुसन्धानबाट केही कैफियत देखिएमा वहाँलाई कारबाही गर्न कसैले रोक्न सक्ने छैन, प्रधानमन्त्रीले भने। मुद्दा बुझाइसक्दासम्म वहाँको नाममा उजुरी, निवेदन केही छैन।

लामिछाने सहकारी ठगी र दोहोरो नागरिकतासम्बन्धी विवादमा मुछिएका व्यक्ति रहेको भन्दै कांग्रेसले उनको राजीनामा माग गर्दै संसद्‌मा चर्को विरोध गर्दै आएको छ। लामिछानेले भने सहकारीको रकम हिनामिनामा आफू संलग्न नभएको दाबी गर्दै आएका छन्।

यसअघि कान्तिपुर दैनिकले सहकारीको ऋणका विषयमा आफ्नो नाम मुछेर समाचार प्रकाशन गरेकोमा गाली बेइज्जती मुद्दा दर्ता गराएको पर्चा सामाजिक सञ्जालमा राख्दै लामिछानेले भनेका थिए, मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button