गृहमन्त्री फेरिएपछि किन पक्राउ परे महरा, कस्तो कारवाही हुन्छ ?

गत महिनासम्म माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए। गृह मन्त्रालयको जिम्मेवारीमा रबि लामिछाने आएसँगै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेका छन् । उनलाई अनुसन्धानका लागि प्रहरीले ४ दिन हिरासतमा राख्न म्याद लिएको छ ।
यसअघि पनि सुन तस्करी प्रकरणमा आरोपितहरूसँग महराको बारम्बार टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भए पनि प्रहरीले उनीविरुद्ध अनुसन्धान नगरेको आरोप लाग्दै आएको थियो।
सत्ता समीकरणमा भएको फेरबदलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गृहमन्त्री बनेपछि सुन तस्करी प्रकरणमा छानबिन समितिले दोषी औँल्याएका व्यक्तिहरूमाथि छानबिन गर्न निर्देशन दिएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त प्रतिवेदन बुझेको केही समयमै महरा पक्राउ परेका थिए।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा पार्टीका उपाध्यक्ष महरा पक्राउ परेको विषयमा छलफल हुने भएको छ। पार्टीका एक जना नेताले उनीमाथि निष्पक्ष छानबिन गर्ने विषयलाई पार्टीले स्वागत गर्ने भए पनि पार्टीबाट निलम्बन गर्ने वा नगर्ने भन्नेबारे छलफल हुने बताए।
हाम्रो पार्टीले यो विषयमा पदाधिकारी बैठकबाट मात्रै आफ्नो धारणा बनाउँछ। दोषी भए छोड्न हुँदैन तर निर्दोष भए रिसइवी वा प्रतिशोध साँध्न हुँदैन भन्ने हाम्रो बुझाइ हो, माओवादीका सचिव लीलामणि पोखरेलले भने।
यसअघि पूर्व सभामुख तथा पटक पटक मन्त्री समेत रहिसकेका महरा पछिल्लो समय कुनै पनि सार्वजनिक पदमा थिएनन्। यौन दुर्व्यवहारको उजुरी परेपछि उनले चार वर्षअघि सभामुख पदबाट राजीनामा दिएका थिए।
माओवादीका अर्का सचिव मातृका यादवले उनीमाथि छानबिन गर्ने विषयमा पार्टीले आपत्ति नजनाउने बताए। हाम्रो पार्टीकै उपाध्यक्ष भएपछि विषय त उठिहाल्छ। तर छानबिनमा हामी सहयोग गर्नेतिर नै जान्छौँ, उनले भने।
उनले पार्टीको बैठकले महरालाई पार्टीबाट कारबाही वा निलम्बन गर्ने वा नगर्ने विषय पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रतिवेदनमा भर पर्ने बताएका छन्। उहाँहरूले के(के रिपोर्ट लिएर आउनुहुन्छ त्यसको आधारमा पार्टीले निर्णय गर्छ, उनले भने।
माओवादी नेता यादव पार्टीको विचारमा विचलन आएका कारण नेता कार्यकर्ताहरू विभिन्न प्रकरणमा मुछिएको घटना आउन थालेको बताउँछन्। उनले महराको प्रकरण माओवादी आन्दोलनकै लागि गम्भीर विषय भएको बताए। यो चाहिँ हाम्रो आन्दोलनका लागि गम्भीर विषय हो, उनले भने।
हाम्रो त सुरु देखिकै दोषी देखिए कसैलाई पनि नछोड्ने र निर्दोष भए कसैलाई पनि फसाउन हुँदैन भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ। पार्टी सरकारको नेतृत्वमै रहेका समयमा पार्टीका वरिष्ठ नेता पक्राउ परेको विषयमा माओवादीका कतिपय नेता कार्यकर्ताले प्रश्न उठाएका छन्।सरकारमा भए पनि नभए पनि यदि त्यस्तो केही छ भने बेहोर्नुपर्छ। त्यो त छानबिनबाट थाहा हुन्छ, यादवले भने।


