खबर फटाफटदेश

द्रुतमार्गमा बन्दैछ धरहराभन्दा अग्लो पुल

निर्माणाधीन काठमाडौं तराई द्रुतमार्गमा पर्ने एउटा पुल काठमाडौंको धरहराभन्दा बढी उचाइमा बन्ने भएको छ । काठमाडौंको ऐतिहासिक धरहरा टावर नवर्निर्माणपछि यसको जमिनमाथि गजुर सहितको उचाइ ८३.८५ मिटर रहेको विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको थियो।

दुई वटा भूमिगत तलासहित धरहराको कुल उचाइ ९२.२५ मिटर छ। काठमाडौंको यो २२ तले धरहरा जत्तिकै अग्लो खम्बामाथि बनिरहेको पुल काठमाडौं तराई द्रुतमार्गस्थित मकवानपुरको लेनडाँडा नजिकै पर्छ।

उक्त स्थानमा फरक फरक दुई वटा पुलका लागि ठड्याइएका कैयौँ खम्बाहरू मध्ये सबैभन्दा गहिरो भागबाट उठाइएको एउटा खम्बाको उचाइ जमिन मुनिको भाग बाहेक नै ८३ मिटर रहेको निर्माणमा संलग्न एक जना इन्जिनियरले बताए।

यहाँ बनिरहेका चार वटा खम्बाको उचाइ ७५ देखि ८३ मिटरसम्म छ। यो धरहराभन्दा अग्लो छ, विगत पाँच महिनादेखि द्रुतमार्गमा प्रमुख पुल इन्जिनियरका रूपमा काम गरिरहेका कोरियाली परामर्शदाता कम्पनीका किम डो हुन्‌ले भने।

धरहराको गजुर बाहेकको उचाइ भन्दा यो पुलको उचाइ अग्लो रहेको निर्माणमा संलग्न अर्का एक कामदारले दाबी गरे। धरहराको वास्तविक उचाइ र यसको उचाइ बराबर छ। जमिनमुनिबाट हिसाब गर्दा यसको उचाइ अझै बढी हो, पुल निर्माणमा संलग्न पोली च्याङ्दा कम्पनीका साइट इन्जिनियर प्रसन्नकुमार झा भन्छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button