खेल संसारमुख्य खबर

त्रिपक्षीय टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

Patanjali Nepal
Sweet Mart Food

आफ्नै घरेलु मैदानमा नामिबियाले फेरि नेपाललाई जितेको छ। मङ्गलवारबाट सुरु भएको त्रिकोणात्मक टी२० श्रृङ्खलामा नामिबियाले नेपाललाई पराजित गरेको हो।

यसपालि उसले नेपाललाई पराजित मात्र गरेन, जान निकोल लोफ्टी इटनले नेपाली बलरहरूलाई दह्रो चुनौती दिँदै कीर्तिमानी शतकसमेत प्रहार गरे। इटनले नेपाली बलरविरुद्ध नेपाली भूमिमा ३३ बलमा शतक पुर्‍याएर टी२० अन्तर्राष्ट्रियमा छरितो शतक बनाउने खेलाडी बने।

बलिङमा नामिबियासामु निरीह देखिएको नेपालले ब्याटिङमा भने चुनौती दिएको थियो। यसअघि विश्वकप लीग २ को दुवै खेलमा नेपाल नामिबियासँग पराजित हुन पुगेको थियो।

टस जितेर ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ४ खेलाडी गुमाउँदै २०६ रनको चुनौतीपूर्ण स्कोर बनायो। त्यसपछि बलिङमा प्रभाव देखाउँदै नेपाललाई १८६ रनमा रोक्यो। र, २० रनको जित हात पार्‍यो।

बायाँ हाते आक्रामक ब्याटर इटनले शतक बनाउने क्रममा कीर्तिपुर मैदानको चारैतिर बाउन्ड्रीको वर्षा गर्दै ११ चौका र आठ छक्का प्रहार गरेका थिए। शतक बनाउने क्रममा उनले नेपाली खेलाडी कुशल मल्लकै कीर्तिमान तोडेका हुन्।

गत वर्षको सेप्टेम्बर २७ तारिखमा चीनको हान्झाउमा भएको १९औँ एशियाली खेलकुदमा कुशलले मङ्गोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गरेका थिए। त्यसको पाँच महिनापछि इटनले नयाँ कीर्तिमान बनाएका हुन्।

कीर्तिमानी शतक बनाएको अर्को दुई बल खेलेपछि इटन अविनाश बोहोराको बलमा गुलशन झाबाट समातिन पुगेका थिए। कुल १०१ रन बनाएका उनी १९।२ ओभरमा आउट भएका थिए। नामिबियाका खेलाडीहरूले सुरुआतदेखि नै आक्रामक ब्याटिङको रणनीति लिएको देखिएको थियो।

ओपनर मलान क्रुगरले अविजित रूपमा मैदानमा टिकेर ५९ रनको अर्धशतकिय इनिङ्स खेले। यी दुई मिलेर ५४ बलमा १३५ रनको साझेदारी गरेका थिए। प्रशस्त विकेट बचेपछि नामिबिया खेलको अन्त्यतिर थप आक्रामक बनेका थियो।

त्यस क्रममा टोलीले पछिल्लो ९ ओभरमा १४४ रन थपेको थियो। नेपालबाट कप्तान रोहित पौडेलले दुई तथा अविनाश र करण केसीले एकएक विकेट लिएका थिए।

जबाफी ब्याटिङमा आएको नेपालको सुरुआत कुशल भुर्तेलको गोल्डन डकआउटबाट भयो। यद्यपि नेपाली ब्याटरहरूले रनरेट कायम गर्दै ब्याटिङ गरेका थिए। तर विकेट झर्ने क्रम रोकिएन।

छ बल खेलेका आशिफ शेख छ रनमा आउट भए। कप्तान रोहित आठौँ ओभरमा ४२ रन बनाएर पवेलियन फर्किए। उनले २४ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरेका थिए।

कुशल मल्लले ३२ रन बनाए। एक्काइस बल खेलेका उनले आफ्नो आक्रामक छवि देखाउँदै चार चौका र एक छक्का हानेका थिए। आफ्नो फेबरेट छक्का हान्ने धुनमा उनी बाउन्ड्री लाइनमा समातिन पुगेका थिए।

मङ्गलवारबाट सुरु भएको तीन राष्ट्र नेपाल, नेदरल्यान्ड्स, नामिबिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खलामा हरेक टोलीले दुईरदुई खेल खेल्ने छन् भने शीर्ष दुई टोलीबीच फाइनल हुनेछ। आगामी जुनमा हुने टी(२० विश्वकपमा छानिएका तीनवटै टोलीले त्यसको तयारीस्वरूप यो श्रृङ्खला खेलेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button