
उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा)की प्रमीलाकुमारी यादवले आफ्नै दलका उम्मेदवार राम सहाय प्रसाद यादवलाई समर्थन गरेकी छन्। उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उनले वक्तव्य जारी गर्दै त्यस्तो घोषणा गरेकी हुन्।



तर, सत्ता पक्षीय गठबन्धनबाट अर्की उम्मेदवार पनि छन् जनमत पार्टीकी ममता झा। जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी रहेको र कुरा मिल्नेमा आफू आशावादी रहेको बताए।



राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको बताइन्छ। तर उनले त्यसमा आफूहरू नरहेको र केही दल बसेर गर्ने निर्णयलाई गठबन्धनको तर्फबाट स्वामित्व लिन नसकिने दाबी गरे।



सत्ता पक्षीय गठबन्धनमा जसपा तेस्रो ठूलो दल हो। त्यसैले उसको दाबी स्वाभाविक रहेको कतिपय बताउँछन्।
तर, जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको बताउँदै प्रतिनिधिसभामा जसपा भन्दा आकारमा ठूलो रहेको तर्क गरेको छ।
सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू जसपाको उम्मेदवारको प्रस्तावक र समर्थक नै बसेका छन्।
चुनाव जित्नका निम्ति मात्रै होइन, सैद्धान्तिक कुरा पनि हो। दुई तीन वटा पार्टी बसेर हरेक निर्णय छुट्टै गर्ने र हामीले १० दलीय गठबन्धन मानिदिनु पर्ने भन्ने हुँदैन, जनमत पार्टीका अध्यक्ष राउतले भने।
उनले जबाफ दिए, गठबन्धनमा हामी निर्णय सुन्नका निम्ति मात्रै त होइनौँ नि। छलफल भएर निर्णय हुनुपर्यो।
तर, जनमत पार्टी सहमति हुन नसके पनि गठबन्धन जोगाउँदै मित्रवत् प्रतिस्पर्धामा जाने पक्षमा देखिन्छ।
जसपा नेताका भनाइमा सुरुमा सहमति हुँदा पाँच दल मात्रै थिए । जनमत लगायतका दल त्यसमा थिएनन्, उनीहरू पछि मिसिएका हुन्।
त्यस बेलाको गठबन्धनले आफ्नो दललाई उपराष्ट्रपति दिने निर्णय गरेको तर अहिले जनमत पार्टी लगायतले टन्टा गरिरहेको जसपाका नेताहरुको भनाइ छ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पहिले जसपाको प्रस्तावलाई मान्ने भन्ने खालको समझदारी भएको बताए।
राष्ट्रपति र उपराष्ट्रपति सत्ता पक्ष वा विपक्षको पद भएको उल्लेख गर्दै उनले भने, यही विषयलाई लिएर त गठबन्धन यता उता नहोला। सकेसम्म सहमति नभए मैत्रीपूर्ण प्रतिस्पर्धा त भइरहन सक्ने कुरा भयो।
गठबन्धन भत्कियो भने पनि सरकारलाई तत्काल कुनै असर पर्ने देखिन्न। तर त्यसको राजनीतिक असर र प्रभाव भने सरकारको विपक्षमा जाने कतिपयको बुझाइ छ।
आगामी दिनमा गठबन्धनभित्र आउन सक्ने खटपट र सम्भावित नयाँ समीकरणलाई त्यसले प्रेरित गर्ने वा टेवा पुर्याउन सक्ने ठानिन्छ।
नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।