नेपालको विद्युत आपूर्तिमा भारतको भर : भारत आफैं संकटमा, नेपालमा के होला ?

नेपालमा विद्यत् आपूर्तिमा भारतको भरथेग छ । आज पनि नेपालको कुल खपतका एक तिहाई विद्युत् भारतबाटै आयात हुन्छ ।
यतिखेर कोइलाको चरम अभाव भएपछि भारत आफैं उर्जाको चरम संकटमा छ । यसले गर्दा नेपालको आपूर्ति के होला भन्ने चिन्ता बढेको छ ।
करीब १ महीनादेखि नेपालका मुख्य औद्योगिक कोरिडोरमा अघोषित विद्युत कटौति भइरहेको छ । भारतबाट हुने आयात अनियमित भएपछि आपूर्तिमा समस्या देखिएको हो ।
बिहिबार भारतका कयौं स्थानमा ८ घण्टासम्म बिजुली काटिएको छ । यसले एशियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा कोइला अभावले नयाँ ऊर्जा संकट उत्पन्न गराउने हो कि भन्ने भय बढेको छ ।
नेपालले अहिले भारतबाट दैनिक एक करोड युनिट विद्युत ऊर्जा आयात गरिरहेको छ । नेपालमा अहिले ३ करोड २१ लाख युनिट विद्युत माग रहेको छ । विद्युत प्राधिकरण, सहायक कम्पनी र निजी क्षेत्रका आयोजनाबाट २ करोड युनिट भन्दा बढी विद्युत आपूर्ति भइरहेको छ ।
नेपालमा अहिले पनि भारतीय बिजुली बिना २४ घण्टा विद्युत आपूर्ति गर्न सकिन्न । केही समय अघि भारतमा बिजुलीको मूल्य बढेर ३८ रुपैयाँसम्म पुग्दा नेपालले बिड गरेर पनि बिजुली पाएको थिएन । त्यतिबेला औद्योगिक क्षेत्रमा केही समय आपूर्ति रोकिएको थियो ।
अहिले भारतमा ८ घण्टासम्म लोडसेडिङ शुरु हुँदा नेपालमा पनि यसको प्रभाव पर्ने पक्का छ । भारतले नेपाललाई बिजुली नदिए अहिले पनि औद्योगिक क्षेत्रको आपूर्ति रोक्नुपर्ने अवस्था छ ।
अहिले भारतमा सहिनसक्नुको गर्मी छ । उखर्माउलो गर्मीबीच बिजुलीको माग बढेको छ । पञ्जाब, उत्तर प्रदेश र आन्ध्र प्रदेशसमेत देशभरका कयौं स्थानमा बिजुलीको उच्च माग छ ।
तर, माग बढेकै भएपनि कोइलाको चरम अभावबीच बिजुली उत्पादन घट्दा माग धान्न नसकेर केही स्थानमा ८ घन्टासम्म बिजुलीको आपूर्ति बन्द भएको छ । उपभोक्ताहरु गर्मी खप्न वा बिजुलीको महँगो ब्याक–अप विकल्प खोज्न बाध्य बनेका छन् ।
हुन त भारतमा बेला बेलामा बिजुली जान्छ । यो नौलो कुरा होइन । तर पछिल्लो अवस्थाले ऊर्जा संकट नजिकिँदै गइरहेको हो कि भन्ने संकेत गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण सुस्ताएको भारतीय अर्थतन्त्र विस्तारै पुनःबहाल हुने क्रममा रहेको छ । भारतले ७० प्रतिशत बिजुली उत्पादन कोइलाबाट गर्ने गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा इन्धन महँगो भएको छ ।
इन्धनको मूल्य वृद्धि रोक्न सरकार अहिले संघर्षरत् छ । यस्तोमा बिजुली अभावले समस्या झनै बढाएको छ । धातु, फलाम र सिमेन्ट लगायत वस्तु उत्पादक साना ठूला सबै व्यवसायहरुको ऊर्जामा अहिले खर्च बढेको छ ।
कोइला अभाव जारी रहिरह्यो भने यसले भारतको औद्योगिक उत्पादनमा दबाब दिने र मुद्रास्फीतिको अर्को झड्का उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ ।



