
आसन्न स्थानीय तहको चुनावमा राजनीतिक दलहरूले तालमेल वा गठबन्धन गर्ने क्रम जारी छ।



देशभरिका स्थानीय तहमा वैशाख ३० चुनाव हुने तय भएको छ। सत्तारूढ पाँच दलीय गठबन्धनले तालमेल गर्दै अघि बढ्ने निर्णय गरिसकेको छ भने अन्य दल पनि सोही बाटोमा अघि बढिरहेका छन्।



पछिल्लो पटक बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी तालमेलबारे पाँचबुँदे सहमति भएको छ। सहमतिअनुसार एमाले र हालै गठित राप्रपा नेपालले सम्भव भएका पालिकाहरूमा तालमेल गरेर उम्मेदवार उठाउनेछन्।



त्यसैगरी राप्रपा नेपालका उम्मेदवारहरूले एमालेको सूर्य चिह्न लिएर स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्नेछन्। गठबन्धन वा चुनावलक्षित तालमेललाई लिएर नेताहरू रक्षात्मक देखिने गरेका छन्।
तर, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल चुनावी तालमेल वा गठबन्धनलाई दुई तरिकाले हेर्न सकिने बताउँछन्।
सकारात्मक पक्ष हेर्ने हो भने हाम्रो जस्तो देशमा राजनीतिक दलहरू घट्दै जाने सङ्केत हो यो। प्रतिस्पर्धामा नसक्ने भयौँ भनेर ठूला दलसँग मिल्दै जान्छन्, उनले भने।
नकारात्मक पाटोबारे चर्चा गर्दै पोखरेलले भने, दलहरूबीच सधैँ अंशबण्डा राम्रो गर्नुभन्दा सबैको चित्त बुझाउनका लागि नराम्रो अभ्यास भइरहने भयो।
त्यसबाहेक खासगरी ठूला दलका कार्यकर्तामा त्यसले निराशा निम्त्याउने जोखिम पनि उनी औँल्याउँछन्।
यो प्रवृत्तिले राजनीतिक दलप्रति नेतृत्वप्रति रहेको कार्यकर्ताहरूको आशालाई कमजोर बनाउन सक्छ, पोखरेलले थपे।
पूर्वकार्यवाहक पूर्वप्रमुख आयुक्त दोलखबहादुर गुरुङ पछिल्लो समय मौलाउँदै गएको चुनावी तालमेल वा गठबन्धनलाई सत्ताकेन्द्रित राजनीतिको उपजको रूपमा लिन्छन्।
देशको लागि यो एकदम घातक हुनसक्छ। चुनावमा हारजितलाई त स्वाभाविक रूपमा लिनुपर्छ। थोरै सीट आए पनि राम्रा नीति, कार्यक्रम छन् भने जनताले ग्रहण गर्दै जिताउँदै जान्छन् नि, उनले भने।
यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न मतदाताहरू नै जागरुक हुनुपर्ने गुरुङको सुझाव छ। अवसर छोप्नेहरूलाई मतदानमार्फत् हराइदिएर मतदाताले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सक्छन्, उनले थपे।
स्थानीय तहमा स्थानीय आवश्यकता एवं प्राथमिकताका साथै स्थानीय उम्मेदवार नै हुने पृष्ठभूमिमा माथि अर्थात् सङ्घबाट सबै कुराको निर्क्योल गर्ने प्रवृत्ति सङ्घीयताकै मर्मविपरीत भएको कतिपय विश्लेषकहरू बताउँछन्।