No Image Headlineअर्थविशेष

बारा-पर्सा कोरिडोरमा उद्योगलाई जग्गा पाउन हम्मे, उद्योगीको लगानी योजना अलपत्र

Patanjali Nepal
Sweet Mart Food

उद्योगी विनय शाहले बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योग खोल्ने योजना बनाए । उद्योगलाई आवश्यक जग्गा किन्न पैसा पनि छुट्ट्याएर राखेका छन् । तर, महीनौं खोज्दा पनि भनेजस्तो जग्गा फेला पार्न सकेनन् ।

‘उद्योग खोल्ने योजना बन्यो । लगानीका लागि पूँजीको व्यवस्था पनि गरेको छु । तर, भनेजस्तो जग्गा नै पाइएन,’ उद्योगी शाहले गुनासो गरे ।

औद्योगिक कोरिडोरमा नयाँ उद्योग खोज्न जग्गा नपाउने शाह एक्ला उद्यमी होइनन् । करीब एक हजार उद्योग सञ्चालनमा रहेको यो कोरिडोरमा नयाँ उद्योगका लागि जग्गा फेला पार्नु निकै कठिन काम बनिसकेको नेपाल उद्योग परिसंघ बारा–पर्साका अध्यक्ष वीरेन्द्रकुमार संघईले बताए ।

समुद्री मार्गसँग सहज पहुँच, देशको मध्यभाग, मुख्य नाका र व्यापार सहजीकरण गर्ने भौतिक पूर्वाधारजस्ता कारणले लगानीकर्ता यो कोरिडोरमा आकर्षित हुन्छन् । बारा–पर्सा सरकारी प्रोत्साहनका कारण नभएर यही सजिलोका कारण औद्योगिक कोरिडोरको रूपमा विस्तार हुँदै गएको हो । उद्योग खुल्ने क्रमसँगै जग्गाको भाउ पनि आकाशिएको छ ।

यतिसम्म कि, उद्योगको कुल लगानीको २५ प्रतिशतभन्दा बढी रकम जग्गामै जाने अवस्था बनिसकेको छ । ‘औद्योगिक सम्भाव्यतामा सबैभन्दा अगाडि मानिएको बारा–पर्सा कोरिडोरमा अब नयाँ उद्योग स्थापना चुनौतीपूर्ण बनेको छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघ अन्तर्गतको उद्योग समितिका संयोजक हरि गौतमले भने ।

वीरगञ्ज भौतिक पूर्वाधारको उपलब्धता र भौगोलिक कारणले पनि औद्योगिक प्रतिष्ठानका लागि उपयुक्त क्षेत्र भएकाले बारा–पर्सा क्षेत्रमै उद्योगका लागि सरकारले जग्गाको व्यवस्था मिलाउनुपर्ने संघईको सुझाव छ ।

बारा–पर्सामा उद्योगका लागि जग्गा पाउनै छाडिएको र बढी मूल्यको जग्गामा उद्योग खोल्नु जोखिमपूर्ण हुने उद्यमी बताउँछन् । केही अघिसम्म कट्ठाको ५ लाख रूपैयाँमा पाइने जग्गाको भाउ अहिले धुरको ३० लाख रूपैयाँसम्म पुगेको उद्यमी बताउँछन् ।

बारा–पर्सा औद्योगिक कोरिडोर औद्योगिक सम्भावनाका हिसाबले अगाडि छ । तर, जग्गा पाउनै मुस्किल र पाइहाले पनि चर्को मूल्य तिर्नुपर्ने अवस्थालाई नेपाल राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले समस्या भनेको थियो ।

वीरगञ्जका उद्योगीले पर्साको ठोरी क्षेत्रमा कम्तीमा २ हजार विगाहा जग्गा खोजेर नयाँ औद्योगिक क्षेत्र तयार गर्न माग गरेका छन् । मुख्य नाका वीरगञ्जसँग निकट रहेको र हुलाकी मार्गले आवागमनमा सहज भएकाले यो क्षेत्रमा उद्योग आकर्षित हुने परिसंघ अध्यक्ष संघईले बताए ।

यस्तो क्षेत्रमा सरकारले उद्योगका लागि चाहिने न्यूनतम् पूर्वाधार तयार गरेर जग्गा बेच्नुपर्ने सुझाव उद्योगी शाहको पनि छ । ‘निश्चित समयभित्र उद्योग खोलिसक्नुपर्ने शर्तसहित उद्योगलाई जग्गा बेच्नुपर्छ । यसो गर्दा लक्षित उद्देश्यकै लागि उपयोग हुन्छ,’ उनले भने ।

सरकारले ५ वर्षअघि सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । मधेस प्रदेशका लागि सर्लाहीको सागरनाथ वन क्षेत्रमा औद्योगिक क्षेत्र प्रस्ताव गरिएको छ । तर, बारा–पर्सा क्षेत्रको तुलनामा यो अपायक हुने उद्यमी बताउँछन् ।

यसअघि नै सप्तरीमा निर्माण गरिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उपयोगमा छैन । निकासीजन्य उद्योगका लागि बाराको सिमरामा तयार भइरहेको विशेष आर्थिक क्षेत्रको प्रगति सन्तोजनक नभएकाले यो संरचनामा अन्य उद्योगलाई आह्वान गर्न सकिने पनि उद्योगीले बताएका छन् ।

बारा–पर्सा कोरिडोरमा उद्योग र मानव बस्ती सँगसँगै विस्तार भएकाले अहिले द्वन्द्व बढेको छ । नयाँ खोलिने औद्योगिक क्षेत्र आसपास मानव वस्ती विस्तारमा मापदण्ड बनाउनुपर्ने सुझाव उद्यमीहरूको छ ।

संघले पनि बारा–पर्सामा नयाँ औद्योगिक क्षेत्रका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताएको छ । तर, अहिलेसम्म सरकारले उक्त माग सम्बोधन नगरेको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।आर्थिक अभियानबाट 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button