नेपाल र चीनबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षर, केके भए समझदारी ?

नेपाल र चीनबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।



सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा। नारायण खड्काको उपस्थितिमा दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।



चीनबाट आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्नेलगायत विषयमा समझदारी भएको छ ।



त्यस्तै, खोप हस्तान्तरण, अरनिको राजमार्ग हस्तान्तरण तथा घाँस निर्यातलगायत समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यसका साथै, सीमा अनुगमन गर्ने विषयमा दुवै देशका परराष्ट्रमन्त्रीले सहमति जनाएको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रेस वक्तव्यमा जनाइएको छ।
परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।
द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा। नारायण खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । त्यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको १७ सदस्यीय प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको थियो ।