No Image Headlineअर्थमुख्य खबर

काठमाडौंमा वीरगञ्जका उद्यमीहरुको दौडधुप, मन्त्री र सरकारी उच्च अधिकारी भेट्दै, समस्या सुनाउँदै

वीरगञ्जका उद्योगी व्यापारीले केही दिनदेखि संघीय राजधानी काठमाडौंमा दौडधुप तीव्र पारेका छन् ।

मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख र विभागीय प्रमुखहरुसँग दिनहुँ अन्तरक्रिया गरेका छन् । वीरगञ्जको उद्योग व्यापारका सरोकार, समस्या र समाधानका उपायबारेमा सरकारको ध्यानाकर्षण गराइएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले जानकारी दिए ।

यसैबीच वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश प्रसाद पाण्डेय र नेपाल प्रहरीका महानिरीक्षक शैलेन्द्र थापासँग भेटेर सरोकारका विषयमा छलफल गरेको छ ।

सचिव पाण्डेयसँगको छलफलमा गुप्ताले सिमरामा अवस्थित सेजमा उद्योगहरु स्थापनाको लागि नीतिगत सुधार ल्याउनुपर्ने बताए । उनले वीरगञ्ज सुख्खा बन्दरगाहको पूर्वाधार विकास गर्नुपर्ने, आईसिपीभित्र क्वारेन्टाइन स्थापना गर्नुपर्ने, आईसिपीभित्र शीत भण्डार, दमकल, एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

वीरगञ्ज–ठोरी–चितवन सडक खण्डमा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्नेमा व्यापारीहरुको जोड थियो । उनीहरुले वीरगञ्ज–ठोरी–चितवन हुलाकी मार्गको निर्माण हुनुपर्ने, तराई–काठमाडौं द्रुतमार्गको निर्माण र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमा सम्पन्न हुनपर्ने बताए ।

सचिव पाण्डेयले वाणिज्य तथा आपूर्तिसम्बन्धी नीतिगत एवम् व्यवहारिक समस्यालाई समयसापेक्ष समाधान गर्दै जाने आश्वासन दिए । उनले सुख्खा बन्दरगाह र आईसिपी सफलतापूर्वक सञ्चालनका लागि चाहिने पूर्वाधार निर्माण गर्न पहल गर्ने पनि बताए ।

सिमरामास्थित सेजमा उद्योगहरु स्थापनाको लागि नीतिगत सुधार गर्न पहल गर्ने पनि उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक थापासँगको छलफलमा गुप्ताले औद्योगिक सुरक्षा बलको पुनः स्थापना हुनुपर्ने, सीमा सुरक्षा बैठकको निरन्तरता दिनु पर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजना संचालनका लागि कोषको व्यवस्थापन राज्यको तर्फबाट गरिनुपर्नेलगायतका माग राखे ।

सो परियोजनामा दक्ष जनशक्तिको परिचालन गरिनुपर्ने पनि बताए । एउटा निश्चित सीमाभित्र नगद रकम ओसारपसारमा कुनै किसिमको हस्तक्षेप हुन नहुने, डिजिटल सेक्युरिटी विङ्गको स्थापना गर्ने, स्थानीयस्तरमा रहेका कैदीलाई कारागार स्थानान्तरण गर्नुपर्ने, मालवाहक सवारीसाधनलाई चेकजाँच गर्ने निकाय हुँदाहुँदै प्रहरी प्रशासनबाट विभिन्न बहानामा दुःख दिने गरिएको कार्यलाई बन्द गरिनुपर्नेलगायतका सुझाव पनि दिए ।

महानिरीक्षक थापाले डिजिटल पुलिसिङ्गको नीति लिएको र वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको प्रबन्ध गर्ने आश्वासन दिए । उनले सीमांचल क्षेत्रको शान्ति सुरक्षाप्रति आपूm गम्भीर रहेको बताए ।

भेटघाटका क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, कार्य समिति सदस्य राजेन्द्र गुप्ता, सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतानलगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button