No Image Headlineदेशमुख्य खबर

देउवा किन चाहान्छन् चुनावी गठबन्धन ? यस्तो नाफाघाटाको अंकगणित

प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनलाई तीन तहकै निर्वाचनसम्म डोर्याउने पक्षमा देखिएका छन् ।

पर्सा पुगेर सार्वजनिक रुपमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच तीन तहकै निर्वाचनमा तालमेल हुने प्रस्ट सन्देश दिएका हुन् ।

उनको यस्तो अभिव्यक्तिसँगै चुनावी गठबन्धनको पक्षमा उभिनु सरकारको नेतृत्व गरेका देउवाको बाध्यता हो वा काँग्रेसको आवश्यकता भन्ने प्रश्न उठेको छ ।

काँग्रेस नेताहरुका अनुसार गठबन्धनको सरकारको नेतृत्व गरिरहेकाले पक्षमा अभिव्यक्ति दिनु देउवाको बाध्यता पनि हो । तर देउवाको अभिव्यक्तिका पछाडि एमसीसी अनुमोदन गर्दा चुनावसम्म गठबन्धन गरेर जाने एकखालको सहमति भएको हुन सक्ने विश्लेषण पनि गरिएको छ ।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच एमसीसी पास गर्दा गठबन्धन गरेर जाने सहमति भएको कतिपयको बुझाइ छ । प्रधानमन्त्री देउवाले पनि पार्टीभित्र र बाहिर गठबन्धन गरेर जाने सन्दर्भमा माहोल सिर्जना गर्न गर्दै गएका छन् ।

माओवादी र एकीकृत समाजवादीलाई चुनावी गठबन्धन गरेर केही ठाउँ नदिँदा बाम गठबन्धन हुन सक्ने भय देउवामा छ । काँग्रेस गठबन्धनका लागि तयार नभए माओवादी र एकीकृत समाजवादी सरासर एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुग्ने उनको बुझाइ छ ।

काँग्रेसका एक नेताका अनुसार बाम गठबन्धनका लागि बाह्य शक्तिका रुपमा छिमेकी मुलुक चीनले मध्यस्थकर्ताको भूमिका खेलिदिने छ भने आन्तरिक रुपमा बाम गठबन्धन एमाले र माओवादीको आवश्यकता हो ।

बाम गठबन्धन गरेर चुनावमा जाँदा हुने लाभको स्वाद एमाले र माओवादीले चाखिसकेको अवस्था छ । त्यसैले गठबन्धनका लागि काँग्रेस उदार नभए बाम गठबन्धन भन्छ भन्ने देउवाको सामान्य रिडिङ रहेको ती नेताले रातोपाटीलाई बताए ।

‘बाम गठबन्धन हुँदा काँग्रेसको हालत ०७४ को चुनाव झै हुन्छ । ०७४ को चुनावमा भन्दा सिनारियो केही फरक छैन । बाम गठबन्धन हुँदा काँग्रेस २३–२४ सिटमा खुम्चिनुपर्छ,’ ती नेताले देउवाको मनमा रहेको भय सुनाए ।

ती नेताका अनुसार प्रधानमन्त्री देउवाको पहिलो र अन्तिम मिसन नै आसन्न चुनावमा बाम गठबन्धन हुनबाट रोक्ने हो । तर स्थानीय तहमा माओवादी र एकीकृत समाजवादीलाई ठाउँ नदिँदा रोक्न कठिन हुने देउवाको बुझाइ छ । त्यसैले स्थानीय तहको चुनावमा सकेसम्म गठबन्धन गर्नुपर्छ भन्ने देउवाको सिधा लाइन छ ।

तर काँग्रेसका केही नेताले भने निर्वाचनपछिको गठबन्धन फाइदाजनक हुने बताउँछन् । चुनावमा काँग्रेसले एक्लै लडेर बहुमत ल्याउन नसकेपछि सरकारमा माओवादीसँग सहकार्य गर्दा राम्रो हुने उनीहरुको बुझाइ छ ।

नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतका नेताको जोड सत्ता गठबन्धनमा छ । उनीहरुले प्रधानमन्त्री देउवालाई उक्त सुझाव दिने गरेका छन् ।

तर माओवादी चुनावपछि गठबन्धन गर्ने गरी चुनाव लड्दै लड्दैन भन्नेमा उनी प्रस्ट छन् । प्रधानमन्त्री देउवामा माओवादी कोही न कोहीसँग मिलिहाल्छ भन्ने चिन्ता छ । यसलाई फागुन १२ को घटनाले बल पुर्याएको देखिन्छ ।

एमसीसी पारित गराउने सन्दर्भमा काँग्रेसले एमालेसँग संवाद गर्दा माओवादी एमालेसँग सहकार्यका लागि अग्रसर भयो । फागुन १२ गते संघीय संसद भवनमा प्रधानमन्त्री देउवा र ओलीको भेटवार्तालगत्तै प्रचण्ड ओलीलाई भेट्न पुगे ।

प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरी सहकार्यको प्रस्ताव राखेका थिए । ओली अहिले बाम गठबन्धनका लागि तयार नभएपछि रोकिएको थियो ।

तर ओली र प्रचण्डबीचको सम्बन्ध नाटकीय रुपमा बदलिनेमा देउवा जानकार छन् । ओली र प्रचण्डको अहिलेको जस्तो सम्बन्ध ०७४ को चुनावअघि पनि थियो ।

भारतको मध्यस्थकर्तामा देउवा र प्रचण्ड मिलेर ओलीको सरकार ढालेर काँग्रेस–माओवादीको सरकार बनेको थियो । प्रचण्ड र ओलीबीच बोलचालसम्म नभएको अवस्था थियो ।

स्थानीय तहको चुनावमा काँग्रेसले प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताइदिएको थियो । तर काँग्रेसले आम चुनावमा गठबन्धन गर्न सकिँदैन भन्दा प्रचण्ड ओलीसँग गएर मिलिदिए ।

ओली र प्रचण्डको सम्बन्धलाई लिएर अहिले बाम गठबन्धन सम्भव नै छैन भनेर कसैले भन्छ भने अरुले पत्याए पनि देउवाले पत्याउँदैनन् ।

किन भने ०७४ को आम चुनावअघि पनि प्रचण्ड र ओलीको यस्तै सम्बन्ध थियो । त्यस्तो अवस्थामा पनि उनीहरु मिले । त्यसैले देउवा कुनै पनि बेला बाम गठबन्धन हुने सम्भावना देखेर नै सत्ता गठबन्धनलाई चुनावसम्मै डोर्याउन चाहन्छन् ।

सत्ता गठबन्धनलाई चुनावसम्मै लैजाँदै गर्दाको हिसाब किताबमा काँग्रेसलाई नाफा हुने एकखालको विश्लेषण छ । जिल्लाको वस्तुगत स्थिति अध्ययन गरेर गठबन्धन गर्दा पार्टीलाई फाइदा हुने काँग्रेस नेताहरु बताउँछन् ।

‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ भने अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा छ,’ ती नेताले भने, ‘गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’

राजनीतिक धरातलीय यथार्थको जगमा तालमेल गर्दा स्थानीय तहदेखि केन्द्रसम्म फाइदा हुने ती नेताको भनाइ छ । ०७४ मा भएको आम निर्वाचनमा माओवादीसँगको चुनावी गठबन्धनले एमालेका अधिकांश उम्मेदवार निर्वाचित भएकोमा काँग्रेस जानकार छ ।

१६५ निर्वाचन क्षेत्रमा एमालेले ९९ र माओवादीले ५६ सिट लिएर चुनाव लडेका थिए । बाँकी १० सिट गठबन्धनमा आएका राजमो, माले र हृदयेश त्रिपाठीलगायतलाई दिइएको थियो । जसमा एमालेलाई ८० र माओवादीलाई ३६ सिटमा सफलता मिल्यो ।

समग्रमा एमालेले १९ र माओवादीले २० सिट गुमाए । ०७४ को निर्वाचनमा काँग्रेससँग पराजित हुनेमा एमालेभन्दा माओवादीका उम्मेदवार बढी थिए । गठबन्धन गरेर जाँदा ०७४ मा एमालेले लिएको स्थानमा सहजै पुग्न सकिने काँग्रेस नेताहरुको हिसाब छ ।

काँग्रेसका एक पदाधिकारीका अनुसार एमालेमा आएको विभाजन र गठबन्धनको साथमा आसन्न आम चुनावमा काँग्रेस ९० सिटमा लड्दा ८० सिटसम्म जित्न सक्छ ।

७५ सिट गठबन्धनलाई दिएर जान काँग्रेस तयार हुने काँग्रेस नेताहरु बताउँछन् । यता ०७४ मा समानुपातिकतर्फ ४० सिट जितेको काँग्रेस आसन्न चुनावमा ४५ सिट जित्न सक्ने आँकलन गरिरहेको छ । यस्तो अवस्थामा प्रतिनिधिसभामा काँग्रेसको १२५ सिट हुन जान्छ ।

जसले काँग्रेसका लागि पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर मिल्छ । यसरी हेर्दा गठबन्धन गर्दा काँग्रेसका लागि लाभदायी हुन्छ ।

यता एमाले–माओवादी गठबन्धन जस्तो काँग्रेसलाई गठबन्धन गर्न सजिलो भने छैन । गठबन्धन गर्दा पनि एक अर्काको मत पाउन काँग्रेस–माओवादीमा कठिन छ ।

काँग्रेसको नेचरले गर्दा गठबन्धनबाट परिणाम निकाल्न गाह्रो छ । काँग्रेसका एक नेताले भने, ‘हाम्रो मान्छेले हँसिया हतौडामा भोट हाल्ने, उनीहरुले रुखमा भोट हाल्ने कुरा एकदम गाह्रो छ ।’

उनका अनुसार काँग्रेसका कार्यकर्ताबाट विद्रोहको खतरा पनि छ । ‘काँग्रेसका ठुलो संख्यामा मतदाताले विद्रोह गर्छन् । त्यो मत एमालेतिर जान्छ । काँग्रेसको ठूलो मतदाता लिबरल मतदाता हो । उनीहरुलाई सबैभन्दा मन नपर्ने पार्टी माओवादी हो,’ ती नेताले भने, ‘माओवादीसँगको गठबन्धन अभिशाप पनि हुने खतरा हुन्छ ।’

यस्तै काँग्रेसले गठबन्धन गरेर जाँदा नयाँ मतदातालाई पार्टीसँग जोड्ने अवसरबाट बन्चित हुन्छ । ‘नयाँ मतदातालाई हामीले अन्य पार्टीलाई मतदान गर्न लगायौँ भने दीर्घकालीन रुपमा हाम्रो संगठनलाई ठूलो असर पार्न सक्छ,’ उनले भने, ‘गठबन्धनका गर्दा काँग्रेस पहिलो पार्टी भए पनि एमाले र हाम्रो मत उस्तै छ । हामी एमालेभन्दा धेरै पछाडि पर्ने खतरा हुन्छ ।’

गठबन्धन गर्ने कुरा समय अगावैभन्दा कार्यकर्तामा संगठन निर्माणको गति कम आउने एक पदाधिकारीले बताए । ‘हामी खटेर, भिडेर लाग्नै परेन । माओवादी र एकीकृत समाजवादीसँग मिलेपछि हामी जितिहाल्छौँ भन्ने हुन्छ । धेरै अगाडि गठबन्धनको टुंगो गरेमा भने पार्टीलाई क्षति गर्छ ।’

एमसीसी पास नहुँदासम्म प्रधानमन्त्री देउवा सबै कुरामा खुला थिए । एमसीसी पारित भएपछि देउवाले गठबन्धन चुनावसम्मै लिएर जाने लय समातेको पाइएको छ ।

यो बीचमा देउवाले बार एशोसिएसन नेपालको चुनावमा गठबन्धन गराए । यता पार्टीको चुनावी अभियानमा खटेका प्रतिनिधिलाई गठबन्धनको विपक्षमा नबोल्न निर्देशन दिए ।

२४ गते पार्टी कार्यालय सानेपामा उनीहरुलाई प्रशिक्षण दिँदा देउवाले गठबन्धनको विपक्षमा नबोल्न निर्देशन दिएका थिए । देउवाले पर्सा पुगेर सर्वाजनिक मञ्चबाट गठबन्धनको आवश्यकता र औचित्य सुनाए । उनले विस्तारै गठबन्धनका पक्षमा माहोल सिर्जना गर्न सुरु गरेको देखिन्छ ।

काँग्रेसका एक नेता भन्छन्, ‘सभापति आजको दिनमा सबैभन्दा बलियो पोजिसनमा हुनुहुन्छ । सभापतिले बोलेपछि काँग्रेस यही लाइनमा जाने रहेछ भन्ने माहोल बनाउन थाल्नुभयो ।’

पार्टीभित्र माहोल बनाउन मात्रै होइन, प्रचण्ड र माधव नेपाललाई काँग्रेससँगको गठबन्धन कुनै पनि विकल्प सोच्न नदिने देउवाको रणनीति छ । त्यही अनुसार देउवाले चुनावी गठबन्धन हुने सन्देश प्रवाह गरेको काँग्रेस नेताहरुको भनाइ छ ।

‘प्रचण्ड र माधव नेपालहरुले विकल्पबारे नसोचुन् । विकल्पको ढोका सबै बन्द होस् भन्न चाहनुहुन्छ । यसका लागि काँग्रेसभित्र माहोल बनाउनु छ,’ एक नेताले भने, ‘उहाँ यसरी लाग्दा प्रचण्ड र माधव नेपालले राहत हुन्छ ।’

आफूले चाहेअनुसार निर्णय गर्न सक्ने संख्याको ताकत देउवासँग रहेकाले गठबन्धन हुन्छ भन्ने प्रचण्ड र माधवलाई पर्न जान्छ । यो सन्देश दिन देउवाले गठबन्धनको पक्षमा माहोल बढाउँदै गएको देखिन्छ ।

उनले भने, ‘अब अलमल छैन । गठबन्धन गरेर जाने हो । दायाँ बायाँ कुरा छैन भन्नेमा प्रधानमन्त्रीजीले लाइन क्लियर पार्नुभयो ।’

एमालेलाई पराजित गर्न काँग्रेसले सबै खालका रणनीति अख्तियार गर्न खोजेको देखिन्छ । आगामी निर्वाचनमा काँग्रेसको प्रमुख प्रतिस्पर्धी पार्टी नेकपा एमाले नै हो । एमालेलाई पराजित गर्न काँग्रेसले सबै खालका रणनीति अख्तियार गर्न खोजेको देखिन्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button