No Image Headlineअर्थविशेष

एकाधिकार तोडिए पनि अस्तव्यवस्त समुद्रपार ढुवानी, रेल रेक बढाउँदै निजी सेवा प्रदायक

समुद्रपारबाट नेपालका लागि आएका कन्टेनर भारतीय बन्दरगाहमा थुप्रिन थालेपछि निजी रेल सेवा प्रदायकमाथि रेल रेक बढाउने दबाब बढेको छ ।

नेपालका लागि रेलमार्फत कन्टेनर ढुवानीमा भारतीय निजी कम्पनीको प्रवेशसँगै सरकारी स्वामित्वको भारतीय कन्टेनर निगम (कोन्कर)ले रेक कटौती गरेपछि अन्य कम्पनीलाई यस्तो दबाब बढेको हो ।

केही दिनअघि भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी)ले भारतीय बन्दरगाहबाट नेपालका लागि कन्टेनर ढुवानीमा आबद्ध सेवा प्रदायकलाई रेक संख्या थप्न निर्देशन दिएको थियो ।

बोर्डले कोन्कर, प्रिस्टाइन मेगा लजिष्टिक पार्क र इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फ्रास्ट्रक्चरलाई चाहिनेजति रेक उपलब्ध गराउन भनेको हो ।

पूर्वाधारका हिसाबले कोन्करको तुलनामा कमजोर मानिएका निजी सेवा प्रदायक रेक बढाउने प्रयासमा तल्लीन देखिएका छन् ।

कोन्करले यसअघिको तुलनामा रेक आधाभन्दा पनि कम गरेपछि आफूहरू रेक संख्या बढाउन लागिपरेको प्रिस्टाइन भ्याली ड्राइपोर्टका कार्यकारी निर्देशक बी मोहनले बताए ।

मार्च महीनाभित्र नेपालका लागि कन्टेनर ढुवानीका आवश्यक संख्यामा रेक थप्ने दाबी मोहनले गरे । प्रिस्टाइन भ्याली वीरगञ्ज सुक्खा बन्दरगाहको सञ्चालक कम्पनी पनि हो ।

प्रिस्टाइन मेगा लजिष्टिक पार्क प्रिस्टाइन भ्यालीको मुख्य साझेदार हो । सुक्खा बन्दरगाहमा रेल सेवा सञ्चालन गरेर नाफा कमाउने योजनाअनुसार प्रिस्टाइनले विगतभन्दा दोब्बर रकममा बन्दरगाह सञ्चालनको ठेक्का सकारेको थियो । अन्य निजी सेवा प्रदायकले पनि रेक बढाउने तयारी गरेको मोहनले जानकारी दिए ।

गत असारमा नेपाल भारत रेल सेवा सम्झौता संशोधन हुनुअघि रेलमार्फत हुने कन्टेनर ढुवानीमा कोन्करको एकाधिकार थियो ।

एकाधिकार तोडिएसँगै अन्य प्रतिस्पर्धीलाई अप्ठ्यारो पार्न कोन्करले भाडा दर र रेक संख्या दुवै घटाएपछि ढुवानी समस्याग्रस्त बनेको छ ।

कोन्करले ढुवानी भाडामा ३५ प्रतिशतसम्म कटौती गरेको छ । विगतको तुलामा रेक पनि आधामा झारेको छ ।

नेपालका लागि हुने ढुवानीमा करीब ९० प्रतिशत कारोबार गर्दै आएको कोन्करले रेक कटौती गरेपछि अन्य कम्पनीको क्षमताले रेक ओसार्न भ्याएको छैन ।

भारतीय रेलवेको मुख्य लगानी रहेको कोन्कर सबैभन्दा बढी रेक भएको कम्पनी हो । अन्य कम्पनी कोन्करको तुलनामा पूर्वाधारमा कमजोर छन् ।

भाडा कटौतीपछि कोन्करले बढी नाफा हुने अन्य क्षेत्रमा रेक पठाएपछि नेपालका लागि हुने ढुवानी समस्याग्रस्त बनेको छ ।

भाडादर घटाउनुअघि वीरगञ्ज बन्दरगाहसम्मको ढुवानीका प्रतिकन्टेनर १२ हजार भारतीय रुपया (भारू) फाइदा हुने गरेकोमा अहिले यो ५ हजार भारूमा झरेको कम्पनीका अधिकारीहरू बताउँछन् ।

अहिले भारतको विशाखापत्तनम् बन्दरगाहमा कन्टेनर थुप्रिने क्रम बढेको आयातकर्ताले बताएका छन् । कोन्करको तुलनामा अन्य कम्पनीसँग रेल रेक कम भएकाले ढुवानी असहज बनेको आयातकर्ता प्रदीप केडिया बताउँछन् ।

अहिले कोलकाता बन्दरगाहबाट ढुवानीमा खासै समस्या नभए पनि दोब्बर दूरीको विशाखापत्तम्बाट रेक पाउन कठिन बन्दै गएको आयातकर्ता आशीष लाठ बताउँछन् ।

विशाखापत्तनम् बन्दरगाहमा २ महीनादेखि करीब ४ हजार कन्टेनर थुप्रिएको आयातकर्ता बताउँछन् । कोलकाता बन्दरगाहबाट ढुवानी गर्दा लागत बढी पर्ने भएपछि अहिले अधिकांश आयातकर्ता विशाखापत्तनम्तर्फ केन्द्रित भएका छन् ।

केही दिनअघि कोलकाता बन्दरगाहमा पनि रेक आपूर्तिमा समस्या देखिएकोमा कोन्करका अधिकारीलाई भनेर सहजीकरण गरिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए ।

सिपिङ कम्पनीले वीरगञ्ज बन्दरगाहसम्म ढुवानीको जिम्मा लिएकाले भारतीय बन्दरगाहमा हुने विलम्बको प्रत्यक्ष भार (जरीवाना) आयातकर्तालाई नपरे पनि समयमा ढुवानी नहुँदा बैंकको ब्याज र व्यापारमा समयको नोक्सानी बढेको केडियाले बताए । आर्थिक अभियान

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button