No Image Headlineदेश

एमसीसी दौडधुप : पारित गराउने कसरतमा सरकार

अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ ।

सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनभित्रै सहमति नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गर्नेगरी प्रधानमन्त्री देउवा अघि बढेका हुन् ।

सोही रणनीतिअनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दलसँगका हरेजसो बैठकमा आफ्नो ‘मुभ’ देखाउँदै आइरहेका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग एमसीसी पास हुने विश्वस्त आधारबिना गठबन्धन कायम गरेर अघि बढ्न नसकिने जवाफ दिएका थिए ।

प्रचण्ड र नेपालसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा शुक्रबार छुट्टाछुट्टै वार्ता गरेका थिए । देउवा साँझ भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टीका महामन्त्री गगन थापालाई लिएर एमाले अध्यक्ष ओलीसँगको वार्ताका लागि बालकोट पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी प्रस्तावमाथि संसद्मा छलफल हुँदै गर्दा आफ्ना सांसदहरू बैठक बहिष्कार गरेर निस्कने र एमसीसी पास गर्न सरकारलाई त्यसले सहयोग पुग्ने प्रधानमन्त्रीसँग भनेका थिए ।

तर, प्रधानमन्त्री देउवा भने एमसीसीलाई अनुमोदन गर्न माओवादी केन्द्र र नेकपा एसको सहयोग नभए विकल्पमा जाने भन्दै विश्वस्त आधारबिना गठबन्धन जोगाउन नसकिने जवाफ दुवै दलका अध्यक्षलाई दिएका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा बिहीबार साँझसम्म असहमत रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदन गर्न सहज हुनेगरी बीचको बाटो रोज्ने तयारी गरेका छन् ।

एमसीसीप्रतिको असन्तुष्टिका कारण एकातिर सत्ता गठबन्धन भत्किने, अर्कातिर सरकारबाट फिर्ता हुनुपर्ने र आगामी निर्वाचनमा एक्लै लड्दा हारिने डरले माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति लचक बन्ने सम्भावना बढ्दै गएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रस्ट रूपमा धारणा र निर्णय दिन तयार भएको छ । तर, उसले सभामुखको विकल्प र १४ सांसदमाथिको कारबाहीको विषयमा भने सरकारसँग सर्त कायमै राखेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार साँझ भेटवार्ता भएको थियो । सो भेटवार्तापछि एमाले आफ्ना माग पूरा गर्न सरकार तयार भए एमसीसीमा सकारात्मक बन्दै स्पष्ट धारणा र निर्णय दिन तयार रहेको भनेको हो ।

विगत केही दिनयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरूबीच एमसीसीको केन्द्रबिन्दुमा रहेर भेटवार्ता हुँदै आएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button