सिमरा विमानस्थल : ७ दशक पुरानो पूर्वाधारमा बढ्दै व्यापार !

७० वर्षअघिदेखि सञ्चालित बाराको सिमरा विमानस्थल पुरानै संरचनामा सञ्चालन हुँदै आएको छ ।
विमानस्थलमा यात्रुको चाप बढेसँगै निजी विमान कम्पनीहरूले बिचक्राफ्ट, एटीआरलगायतका ठूला विमानहरूको सेवा बढाए पनि नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलमा सामान्य सुधारबाहेक ७० वर्षअघिकै प्राविधिक र भौतिक संरचनामा सञ्चालन हुँदै आएको हो ।
ट्विनअटर विमान उडान र अवतरण गर्न सक्ने संरचनामा निजी विमान कम्पनीले बढी लागत र खर्चमा दैनिक सेवा प्रवाह गरिरहेका छन् । बिचक्राफ्ट, एटीआरजस्ता ठूला विमान फुल फेजमा उडान र अवतरण गर्न १५ सय मिटर धावन मार्ग आवश्यक रहने गर्छ ।
हाल उपलब्ध ११ सय ९२ मिटर रनवे रहेकोमा थप ३ सय मिटर बढाउन जग्गा अधिग्रहण गर्न प्राधिकरणले चासो राखेको छैन । निजी विमान कम्पनीले उडानका समस्या पटक–पटक प्राधिकरणसमक्ष अनुरोध गर्दासमेत चासो नदिँदा विमानस्थलको बानवे उडान प्रयोग थालेका छन् ।
बुद्ध, यती, श्री र गुण एयरलाइन्स कम्पनीले दैनिक १२ देखि १५ उडान भर्ने सिमरा विमानस्थलमा करिब १६ सय यात्रु दैनिक ओहोरदोहोर गर्ने जनाइएको छ ।
वि.सं. २००८ देखि सञ्चालित विमानस्थलमा उही टावर भवन, टर्मिनल भवन, धावनमार्ग, पार्किङलगायत अन्तर्राष्ट्रिय मापदण्डको सामान्य विधिसमेत पूरा नगरेपछि यात्रु र विमानको चाप थेग्न नसक्ने अवस्था बन्दै गएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए ।
रक्सौल नाका हुँदै भित्रिने भारतीय नागरिक, पथलैया–वीरगन्ज औद्योगिक करिडोरका उद्यमी, व्यापारी, नेता, उच्चस्तरका व्यक्ति र बारा, पर्सा, रौतहट, मकवानपुर तीन जिल्लाका सर्वसाधारणले सिमरा विमानस्थल प्रयोग गर्ने गरेको अध्यक्ष शर्माले बताए । दैनिक १२ देखि १५ उडान हुने सिमरा विमानस्थलमा करिब १६ सय यात्रु दैनिक ओहोरदोहोर गर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
एप्रोच लाइट विस्तार हुन नसक्दा रात्रि उडान हुन सकेको छैन, कतिपय निजी कम्पनीले एप्रोच लाइट नहुँदा रात्रि उडान गर्न नपाएको बताएका छन् । सिमरा यति एयरलाइन्स सिमराका सुबास सापकोटाले आफूहरूको विमानको गति बढिरहेको हुँदा एप्रोच लाइट विस्तार नभएसम्म रात्रि उडान गर्न नसक्ने बताए ।
विमानस्थलको उत्तरतर्फ रहेको एक दर्जन रूख र ५ घरहरूको कारण जोखिम बढेपछि विमानस्थलले दक्षिण क्षेत्रबाट एकतर्फी धानमार्गमा उडान र अवतरण गराउँदै आएको छ, जसका कारण ७ मिनेट बढी लाग्ने गरेको छ । उक्त क्षेत्रबाट उडान र अवतरण गर्दा ७ मिनेट समय इन्धन बचत हुने र भाडा पनि सस्तो हुने निजी कम्पनीहरूले जनाएका छन् ।
कतिपय अवस्थामा पार्किङको समस्या हुने गर्दा रनवेमै विमान रोकिनुपरेको र हेलिकप्टरहरूले इन्धन नहुँदा आकस्मिक अवतरण गरेको घटना हुने गरेको छ । इन्धन विमानस्थलमा नराखिएकै कारण यति एयरलाइन्सले सुरु गरेको पर्वतीय उडान स्थगित गरेको नाटाका प्रदेश अध्यक्षसमेत रहेका शर्माले बताए ।
सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले विमानको चापसँगै टर्मिनल बिल्डिङ, विमान पार्किङ, धावनमार्ग विस्तार, एप्रोच पार्क विस्तार गर्न तत्काल आवश्यक रहेको पहल थालिएको बताए । एकतर्फी उडानका सम्बन्धमा स्थानीय सरकारको सहयोग आवश्यक पर्ने हुँदा पहल गरिदिन पत्राचार गरिएको समेत भट्टले जानकारी गराए ।
करोडांै राजस्व उठ्ने विमानस्थलमा सेवाग्राहीप्रति प्राधिकरण गैरजिम्मेवार रहेको बताउँदै दबाब दिन आवश्यक भइसकेको स्थानीयको आक्रोश बढ्दै गएको छ । कारोबार



