शोधनान्तर स्थिति ८३ अर्ब घाटामा, रेमिट्यान्स ६ प्रतिशत घट्यो

मुलुकको शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौको एकीकृत विवरणअनुसार भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोड घाटामा रहेको छ ।



अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा छ । मुलुकमा भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ ।



त्यस्तै चालु खाता १ खर्ब ६ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो । दुई महिनाको समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई १ अर्ब २५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई ३ अर्ब ४ करोड पुगेको छ ।



यो वर्षको साउन र भदौमा कुल १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन रकम अघिल्लो वर्षको साउन र भदौको तुलनामा ६.३ प्रतिशतले कमी रहेको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स घट्दा वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या भने बढेको छ ।
यो साउन र भदौमा वैदेशिक रोजगारीका लागि ३८ हजार ४९२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य बढेर २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।