अर्थमुख्य खबर

साढे ६ हजार टन बिग्रिएको मल सुक्खा बन्दरगाहमा एक वर्षदेखि अलपत्र

Thrill Factory
Rungta Group

वीरगञ्ज-पानीले भिजेर बिग्रिएको मल १ वर्षभन्दा लामो समयदेखि वीरगञ्ज सुक्खा बन्दरगाहमा थन्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीले मगाएको १ लाख २६ हजार बोरा ९ ६ हजार ३ सय मेट्रिकटन० डीएपी मल बन्दरगाहमा अलपत्र परेको हो ।

बिग्रिएको मल नष्ट गर्नुपर्ने भए पनि आपूर्तिकर्ता सम्पर्कमा नआएकाले नष्ट गर्न नसकिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए । ‘बिग्रिएको मल हामीले जफत गरेर राखेका छौं । जाँचपास गर्न नमिलेपछि त्यस्तो मल नष्ट गर्नुपर्छ,’ प्रमुख खत्रीले भने ।

यस्तो मल अहिले बन्दरगाहमा रेलवे ट्र्याकको खाली जमीनमा मिल्काइएको छ । गोदाममा राख्दा ठाउँ ओगट्ने भएकाले रेलवेको दुईओटा ट्र्याकको बीचमा पर्ने खाली ठाउँ र छेउको जमीनमा राखिएको हो ।

मल कसरी नष्ट गर्ने भन्ने अन्योल देखिएको छ । बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले बिग्रिएको मल बन्दरगाहबाट हटाउन दबाब दिइरहेको छ । आपूर्तिकर्ता सम्पर्कमा नआएपछि भन्सार प्रशासन अन्योलमा छ ।

बिग्रिएको मल नष्ट गर्ने जिम्मेवारी आपूर्तिकर्ता कम्पनीको भए पनि सम्पर्कमा नआएको भन्सार प्रमुख खत्रीले बताए । ‘आपूर्तिकर्ता सम्पर्कमा छैन । मललाई बन्दरगाह हातामै थुपारेर राखिएको छ,’ उनले भने ।

संयुक्त अरब इमिरेट्स दुबईको स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेजले मल आपूर्तिको जिम्मा लिएको थियो । बिग्रिएकोमध्ये अधिकांश परिमाण साल्ट ट्रेडिङको हो । ५००० मेट्रिक टन साल्ट ट्रेडिडको र बाँकी कृषि सामग्री कम्पनीको थियो ।

गतवर्ष भदौको पहिलो हप्ता कोलकाता बन्दरगाह हुँदै रेलमार्फत वीरगञ्ज भित्रिएको मल भिजेर बिग्रिएको फेला परेको थियो । काम नलाग्ने अवस्थामा आइपुगेको मल भन्सारले जाँचपास गरेको थिएन ।

ओमानबाट आएको मल त्यतिबेला बंगालको खाडीमा आएको अम्फन आँधीका कारण कोलकाता बन्दरगाहमा भिजेको थियो । आयात गरिएको मल नेपाल भिœयाउनैपर्ने नीतिगत व्यवस्थाका कारण आपूर्तिकर्ताले बिग्रिएकै मल वीरगञ्ज ल्याएर छोडिदिएको थियो ।

साल्ट ट्रेडिङ वीरगञ्जका प्रमुख अमोज लामिछाने मल भिजेर भएको क्षति आपूर्तिकर्ताले नै बेहोरेकाले आर्थिक रूपमा कुनै नोक्सानी नभएको दाबी गरे । बिग्रिएको मल नष्ट गर्ने दायित्व पनि आपूर्तिकर्ताकै भएको उनले बताए ।

बन्दरगाहमा नष्ट गर्ने पर्याप्त ठाउँ नभएको र बन्दरगाह बाहिर लैजान नसकिएकाले बन्दरगाहमै थुपारेर राखिएको भन्सारले बताएको छ । बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीले बन्दरगाहमा अलपत्र मलका कारण सञ्चालन असहज भएको बताउँदै आएको छ ।

‘जथाभावी राखिएको मलका कारण हामीलाई बन्दरगाह व्यवस्थापनका कठिनाइ भइरहेको छ । कन्टेनर र अन्य कार्गोको चाप बढिरहेको अवस्थामा थन्किएको ठूलो परिमाणको मल थप समस्या बनेको छ,’ प्रिस्टाइन भ्यालीका कार्यकारी निर्देशक बी मोहनले भने । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button