No Image Headlineदेश

अफगानिस्तानबाट नेपाली स्वदेश फर्कने क्रम जारी

Thrill Factory
Rungta Group

काठमाडौं-अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भदौ १ गतेदेखि आजसम्म झण्डै ६०० नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिए । आज बिहान मात्रै दुई उडानमा क्रमशः २७ र ९ गरी ३६ नेपाली स्वदेश फर्किएका छन् । आज राति पनि केही सङ्ख्यामा नेपाली स्वदेश फर्किने उडान तालिका रहेको छ ।

स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानमार्फत आएका हुन् । अफगानिस्तानबाट काठमाडौँ आएका नेपालीलाई गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ ।

नेपाली सेनाले सामाखुसी र इचङ्गुनारायणमा होल्डिङ सेन्टर बनाएको छ । हालसम्म नेपाल फर्किएकालाई सामाखुसीको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको र आवश्यक परेमा मात्रै अर्को होल्डिङ सेन्टरमा लगिने नेपाली सेनाले जनाएको छ ।

सरकारले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै (साउन ३२ गते भएको मन्त्रिपरिषद् बैठकले) नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो । उक्त बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button