प्रदेश २ को विकासका लागि कनेक्टिभिटी
वीरगञ्ज । प्रदेश २ को आर्थिक सम्भाव्यता दोहनका लागि सीमावर्ती भारतीय राज्यहरूसितको कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
प्रदेश २ का ८ ओटै जिल्लाको सिमाना भारतसित जोडिएकाले सीमावर्ती सम्भाव्यता उपयोगका लागि आवागमन र पारहवन सहज हुनुपर्ने सरोकारका पक्षले बताएका छन् । वीरगञ्ज मुलुककै मुख्य व्यापारिक नाकाबाट मात्र नभएर उत्पादन र आपूर्तिको मुहान पनि भएकाले यो क्षेत्रको कनेक्टिभिटी बलियो हुनुपर्ने प्रदेश २ का सिँचाइ तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा बताउँछन् ।
‘वीरगञ्ज क्षेत्रबाट आवागमन जति सरल हुन सक्यो, सम्भाव्यता दोहन गर्न पनि त्यति नै सहज हुन्छ ।
सीमावर्ती क्षेत्रमा रहेकाले नेपालका मुख्य शहरीक्षेत्रसँगै भारततर्फको कनेक्टिभिटीले पनि महत्त्व राख्दछ,’ मन्त्री शर्माले भने ।
बारा–पर्सा क्षेत्र मुख्य औद्योगिक केन्द्र भएकाले यहाँसम्म कच्चा पदार्थको आपूर्ति र उत्पादनको ढुवानीलाई सहज बनाउनुपर्ने निजीक्षेत्रको भनाइ छ । प्रदेश २ सरकारले सडक र हवाई यातायातलाई प्राथमिकतामा राखेको पनि शर्माले उल्लेख गरे ।
संघ सरकारले २ नम्बर प्रदेशको आर्थिक सम्भावना र महत्त्वलाई बुझेर अन्तरप्रदेश सम्पर्कका माध्यमलाई जतिसक्दो सहज बनाउनुपर्ने तर्क शर्माको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको पूर्वअध्यक्षसमेत रहेका शर्माले विगतदेखि नै यातायातमा जोड दिँदै आएका थिए । ‘यातायात नै विकासको आधार भएकाले सडक तथा हवाई सेवालाई प्रभावकारी बनाउनुको विकल्प छैन । जहाँ यातायात पुग्छ, विकास पनि त्यतै जान्छ,’ हालै प्रदेश २ को सिँचाइ तथा ऊर्जामन्त्री बनेका शर्माले भने । वीरगञ्ज उद्योग वाणिज्य संघले पनि सीमावर्ती क्षेत्रमा नेपाल–भारत आवागमनका पूर्वाधार र उपयोगको पहल अगाडि बढाएको छ । भारतीय रेलवेका अधिकारीहरूलाई वीरगञ्जमै बोलाएर रक्सौलबाट भारतका ठूला शहरहरूमा सीधा रेलसेवा सञ्चालनका लागि पहलको आग्रह गरिएको संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।
प्रदेश २ भारतको विहार राज्यसित जोडिएकाले कम्तीमा बाराको सिमराबाट विहारको पटनासम्मको उडान खोल्नुपर्ने र त्यसका लागि संघ सरकारले तत्काल पहल थाल्नुपर्ने धारणा शर्माको छ । ‘बाराको निजगढमा निर्माणाधीन दोस्रो अन्तरराष्ट्रिय विमानस्थल कहिले बनिसक्ने टुंगो छैन । अहिलेका लागि सिमरा–पटना उडान हुन सके आवतजावत धेरै सहज हुन सक्छ,’ उनले भने ।
मुख्य नाका र व्यापारिक केन्द्र भएकाले व्यवसायी, प्राविधिक, परामर्शदाताको आवागमन भइरहने हुँदा यातायात सहज हुनुपर्ने नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोकुमार वैद बताउँछन् । संघका पूर्वअध्यक्षसमेत रहेका वैदले आफ्नो कार्यकालमा सीमावर्ती भारतीय विहारका राजनीतिकर्मीहरूको सहभागितामा बोर्डर समिट गराएका थिए । त्यसबेला रक्सौल–मोतीहारी सडक स्तरोन्नति, रेलवेमा आकाशेपुल र रक्सौल विमानस्थल सञ्चालनको एजेन्डमा छलफल गराएका थिए । भारतीय सहभागीहरूले ती एजेन्डाको कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतको रक्सौल मुख्य सडकमा पर्ने रेलवे क्रशिङमा घण्टौं जाम लाग्दा आवागमन अस्तव्यस्त हुने गरेको छ । औद्योगिक कच्चा पदार्थ र तयारी वस्तु बोकेका ढुवानीका साधन जाममा पर्ने गरेको औसत गुनासो व्यवसायीहरूको छ ।
रक्सौलको रेलवे क्रशिङमा यसै वर्षदेखि दुईपांग्रे सवारीसाधनका लागि आकाशेपुल निर्माण थालिएको छ । ठूला सवारी र ढुवानीका साधनका लागि पनि यस्ता पूर्वाधार बनाइनुपर्ने र मुख्य नाकालाई व्यवस्थित बनाउन नेपाल सरकारले भारतसित दरिलो पहल थालिहाल्नुपर्ने सुझाव अध्यक्ष गुप्ताको छ । वीरगञ्जका उद्यमी व्यवसायीले भारतको रक्सौल रेल स्टेशनलाई सहज पूर्वाधारयुक्त बनाइनुपर्ने, स्टेशनभित्र व्यवस्थित पार्किङ, क्यान्टिनको व्यवस्थालगायत सुधारमा ध्यानाकर्षण गराउँदै आएका छन् । ‘निजीक्षेत्रको प्रयासलाई परिणाममुखी बनाउन सरकारले पहल गर्नुपर्छ,’ गुप्ताले भने ।