सत्तारुढ गठबन्धनलाई मन्त्री छान्नै सकस, जारी छ कसरत

काठमाडौं–सत्तारुढ गठबन्धनका नेताहरुलाई मन्त्री छनोटमा समस्या भएको छ । भागमा परेका मन्त्रालयभन्दा आकांक्षी बढी भएपछि शीर्ष नेताहरु समस्यामा परेका हुन् ।
यो विषयलाई टुंगो लगाउन सहभागी शीर्ष नेताको बैठक बस्ने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।


बालुवाटरमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने एक नेताले बताए। बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्नेसमेत उनले बताए।
गठबन्धनका शीर्ष नेता सहभागी हुने बैठकमा सरकारका अन्य कामकारवाहीका विषयमा समेत छलफल प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ।
यसअघि बुधबार बिहान बसेको बैठकमा जतिसक्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।