No Image Headlineअर्थदेश

बाढीपहिरोले भत्किए २६ पुल, एक अर्ब क्षतिको प्रारम्भिक अनुमान

काठमाडौं । यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ ।

Printo Pack

वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा निर्माणाधीन मोटरेबल पुल भत्किएका छन् । निर्माण सम्पन्न भइसकेका आठओटा मेटरेबल पुल क्षति पुगेको छ ।

अन्य खाले पुलहरूमा तीनओटा काठेपुल, एउटा बेलिब्रिज, दुईओटा स्ल्याब कल्र्भट र चारओटा पुलको एप्रोच सडकमा क्षति भएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए ।

Snow
Forest

विस्तृत अध्ययन नगरी यकिन तथ्यांक नआए पनि प्रारम्भिक प्रतिवेदनअनुसार यी पुलहरू भत्किँदा रू ८० करोडको क्षति भएको उनले बताए । त्रियुगा, महेश, लोदारी, कमला खोलाका पुलहरू निर्माण हुँदाहुँदै भत्किएका छन् ।

कर्णालीको कोठिया घाटा, सोती घाट, प्युठानको खेलाको पुलको एप्रोच सडकमा क्षति पुगेको भए पनि मुख्य संरचनामा क्षति भएको छैन । मनाङमा बेलिब्रिज, अन्य स्थानका काठे पुलहरू पनि बाढीका कारण भत्किएका छन् ।

यो तथ्यांकमा गत चैत अन्तिम साता भत्किएको तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल पनि परेको छ । मुलुकका विभिन्न स्थानका सडकपुल खासगरी निर्माणाधीन र निर्माण सम्पन्न भएका पुलहरू चैतमा र वर्षायाममा भत्किएपछि निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार २० गते कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलले साउन ७ गतेसम्ममा निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधीन पुलहरूमा भएको क्षतिको कारण विश्लेषण गरी सिफारिश पेश गर्ने कार्यादेश पाएको थियो ।

‘अध्ययन टोली फिल्डमा गएर आएको छ, तर कठिनाइ के भयो भने, पुल भत्किएका खोला तथा नदीहरूमा पानीको सतह नघट्दासम्म विस्तृत अध्ययन असम्भव जस्तै देखियो,’ उनले भने, ‘अहिले पानीको सतह बढेको हुँदा किनाराबाट हेर्नेभन्दा बढी काम हुन सकेन ।’ उनले पूर्ण प्रतिवेदनका लागि भदौ १५ पछि मात्रै सम्भावना देखिएको बताए ।

अहिले यो समितिको म्याद थप गर्ने र पानीको सतह घटेपछि विस्तृत विवरणहरू संकलन नगर्दासम्म अन्तिम प्रतिवदेन नआउने उनको भनाइ छ । अहिले सचिवस्तरमा यसको म्याद थप गर्ने विषयमा छलफल भएको छ ।

प्रारम्भिक अध्ययनअनुसार पहिलो कारण अस्वाभाविक रूपमा असारमा बढी पानी पर्दा पुलहरूमा क्षति पुगेको उनको भनाइ छ । दोस्रोमा जलाधार क्षेत्रमा हुने क्रियाकलापहरूले पानीका साथसाथै माटो, ग्राभेल, रूखहरू बगेर आउँदा पनि त्यसको भार पुलले थेग्न नसकेको देखिन्छ ।

‘पुलहरू बनाउँदा ड्रिलिङ गरेर माटोको परीक्षण गर्दा केही कमजोरी हुन सक्ने भन्दै उनले परामर्शदाता तथा माटो परीक्षणको प्रतिवेदनको पनि डाटाबेस नभएको बताए । विभागमातहतबाट वार्षिक रूपमा साढे २ सयदेखि ३०० सम्म मोटरेबल पुलहरू निर्माण हुँदै आएका छन् । यसमध्ये केही पुलहरूमा समस्या आएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button