बेग्लाबेग्लै स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु, मृतक सबैको पहिचान खुल्यो

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।
सुनसरी भोक्राहा नरसिहं गाउँपालिका ३ खुनिया पुलस्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोकिएर आगलागी हुँदा ३ जनाको ज्यान गएको छ ।
२७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ वर्षीय शेख फिरोज रहेका छन् ।
घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हिजो राती साँढे ७ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना८ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
आगलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको हो । उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा हिजो राती ९ बजे नियन्त्रणमा आएको छ ।
उता स्याङ्जाको विरुवा गाउँपालिका ३ धोवादीस्थित भित्रि सडकमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ।
जीप खसेको खबर पाएपछि पुगेको प्रहरीले जीपमा रहेका २ जना ब्यक्ति नै मृत्यु भएको जनाएको छ।
सोही गाउँपालिका खाली निवासी जीप चालक २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार विरूवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको सो जीप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो।
उता प्यूठानमा शुक्रवार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएकामध्ये एकै परिवारका तीन जना परेका छन् । सो घटनामा ८ जनाको मृत्यु भएको थियो ।
आठै जनाको सनाखत भएको प्रहरीले बताएको छ । ५ जना गम्भीर घाइते भएका छन् ।
गौमुखी–६ ओखरपाटाबाट बेहुली लिएर फर्कंदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो ।


