अर्थखबर फटाफट

वीरगञ्जका होटललाई खाद्य स्वच्छताका आधारमा लोगो दिइने

वीरगञ्जका होटलहरूको स्तरीकरण गरिने भएको छ । स्थानीय होटल तथा रेष्टुरेन्टहरूमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गरी त्यसको स्तरको आधारमा लोगो प्रदान गर्न लागिएको हो ।

खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरले विहीबार वीरगञ्जमा यसबारेमा होटल सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसँगको सहकार्यमा भएको कार्यक्रममा स्थानीय होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, मिठाइ पसल सञ्चालकको सहभागिता थियो ।

सहभागी सञ्चालकलाई खाद्य स्वच्छता, गुणस्तर र यसका आधारमा होटलको स्तरीकरणबारेमा जानकारी दिइएको डिभिजन कार्यालयका अधिकृत रत्नकान्त झाले बताए । होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छताको आवश्यकता र यसका उपायबारे सञ्चालकहरूलाई जानकारी दिइएको थियो ।

वीरगञ्जका होटल तथा रेष्टुरेन्टका ५२ जना सञ्चालको सहभागिता रहेको थियो । कार्यक्रममा स्वच्छताका बारेमा जानकारी दिइएको र पालना भए/नभएको अनुगमन गरेर होटलहरूलाई स्तरअनुसार लोगो प्रदान गरिने खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख बिक्की राउतले जानकारी दिए ।

होटलमा खाद्य स्वच्छता कायम गर्न १० दिनको समय दिइएको छ । स्वच्छताको अवस्थाबारे अनुगमन र लोगो बितरणका लागि ७ सदस्यीय समितिसमेत गठन भएको छ ।

होटल तथा पर्यटन व्यासायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अनुगमनको क्रममा केही अनावश्यक निर्देशन पनि दिने गरेको गुनासो गरे । होटलमा खाद्य स्वच्छता र त्यसका आधारमा हुने स्तरीकणको पहल सकारात्मक भएको पनि पन्तले बताए ।

होटल व्यवसायी दिलिपराज कार्कीले सहजीकरण गरेको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी उपरीक्षक रमेश बस्नेत, होटल लड्र्स दियालोका सञ्चालक अनुज रुङ्गटा, मोहन प्रधान र रन्जेश श्रेष्ठलगायतले आआफ्नो मन्तब्य राखेका थिए ।

यसैबीच होटल तथा पर्यटन व्यवसायी संघले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र प्रहरी उपरीक्षक रमेश बस्नेतलाई स्वागतसमेत गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button