No Image Headlineदेशमुख्य खबर

विदेशमा पढ्न जानेको ताँती : पाँच वर्षमा साढे ६ लाखभन्दा बढी नेपालीले लिए अध्ययनको एनओसी

पछिल्ला पाँच वर्षको अवधिमा साढे ६ लाखभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार, वि.सं. २०७७ देखि २०८१ सालको फागुन ७ गतेसम्म कुल ६ लाख ६८ हजार ९४३ जनाले एनओसी लिएका हुन्। तथापि भारतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीमध्ये धेरैजसोले एनओसी नलिई जाने भएकाले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने जानकारहरूको भनाइ छ।

विद्यार्थीहरूले अनुमतिपत्र लिएका गन्तव्य देशहरू जाम्बिया, बोस्निया एन्ड हर्जगोभिना, काजकिस्तानजस्ता कम परिचित मुलुकदेखि लिएर अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, यूके, र दक्षिण कोरियाजस्ता विकसित राष्ट्रहरूसम्म रहेका छन्।

अस्ट्रेलिया प्रमुख गन्तव्य

पाँच वर्षको अवधिमा सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलिया गएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार, २ लाख ५ हजार ३९८ जनाले अस्ट्रेलियाका लागि एनओसी लिएका छन्। दोस्रो स्थानमा जापान (१ लाख २३ हजार ५९४), तेस्रोमा यूके (८८ हजार ३४३), चौथोमा क्यानडा (७६ हजार ६६३) र पाँचौँमा अमेरिका (४० हजार ३४६) रहेका छन्।

अन्य प्रमुख गन्तव्यमा दक्षिण कोरिया (३१ हजार ९७३), भारत (२४ हजार ९६३), यूएई (१२ हजार ५४४), न्यूजील्यान्ड (१० हजार ५०४), र फ्रान्स (७ हजार बढी) रहेका छन्। जर्मनी, फिनल्यान्ड, र डेनमार्कमा पनि पाँच–पाँच हजारभन्दा बढी विद्यार्थी गएका छन्। काजकिस्तान र जाम्बियाका लागि भने दुई–दुई जनाले मात्रै अनुमतिपत्र लिएका छन्।

विदेश जाने प्रवृत्तिको बढोत्तरी

वि.सं. २०७७ मा ४० हजार ४७७ जनाले एनओसी लिएका थिए भने २०८१ मा सो सङ्ख्या दोब्बरभन्दा बढी अर्थात् ९२ हजार ६४८ पुगेको मन्त्रालयले जनाएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार विदेश जाने विद्यार्थीहरूको संख्या बढ्नुमा आन्तरिक र बाह्य दुवै कारण छन्। उनका अनुसार बाह्य कारणमा विदेशी समाजको खुलापन, रोजगारीका अवसर, र अध्ययनसँगै काम गर्न सकिने लचिलो नीति जिम्मेवार छन्। आन्तरिक कारणमा भने नेपालको शिक्षामा लचिलोपनको अभाव, चाहिएको स्तरको कोर्स र रोजगारी नपाइनु समावेश छन्।

अध्ययनको नाममा कामतर्फ आकर्षण

शिक्षाविद्हरूका अनुसार अध्ययनको नाममा एनओसी लिएर विदेश गएकामध्ये धेरै विद्यार्थीको उद्देश्य भने कमाउने नै हुने गरेको छ। शिक्षाविद् विद्यानाथ कोइरालाले भने, “पढाइको नाम लिएर जाने गरे पनि धेरै पैसा कमाउन जान्छन्। यहाँ जागिर छ भन्ने दृष्टिकोण नेताहरूले पनि बनाइदिएनन्।”

एक पूर्व शिक्षा सचिवले एनओसी लिने विद्यार्थीहरूलाई चार श्रेणीमा वर्गीकरण गरेका छन् — छात्रवृत्तिमा पढ्न जाने, आफैँले खर्च गरेर पढ्न जाने, पढ्दापढ्दै काम गर्ने र काम गर्ने उद्देश्यले अध्ययनको नाममा जाने।

विद्यार्थी सन्दर्भमा कोरियासम्बन्धी निर्णय

कोरियामा भाषा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरूले समस्या भोगिरहेको सोलस्थित नेपाली दूतावासको पत्राचारका आधारमा मन्त्रालयले हाल कोरियाली भाषा अध्ययनको लागि एनओसी प्रदान स्थगित गरेको छ। डी–२ र डी–४ भिसामा ‘अन्डरग्र्याजुएट कोर्स’ अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई एनओसी स्थगित गरिएको मन्त्रालयले वैशाख ३० गते जारी सूचनामार्फत् जानकारी गराएको हो।

सो विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्न कार्यदलसमेत गठन गरिएको छ। कार्यदलले दिएको सुझावका आधारमा आगामी नीति तय गरिने मन्त्रालयले जनाएको छ।

वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी विदेश जाने

शिक्षा मन्त्रालयका अधिकारीहरूले एनओसीमार्फत् विदेश जाने विद्यार्थीहरूमार्फत् वार्षिक औसतमा एक अर्ब रुपैयाँभन्दा बढी रकम नेपालबाट बाहिरिने गरेको बताएका छन्। जानकारहरूका अनुसार नेपालमै पर्याप्त अवसर सिर्जना हुन थालेमा विदेश गएकामध्ये केही युवाहरू फिर्ता आउने सम्भावना रहेको आशा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button