नेपालमा राजतन्त्रको अन्त्य कसरी भयो? राजा त्रिभुवनको घोषणामै परेको थियो ‘गणतन्त्र’

नेपालमा करिब २४० वर्षसम्म कायम रहेको राजतन्त्र २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले औपचारिक रूपमा समाप्त गर्यो। गणतन्त्रको स्थापनाको यात्रामा विभिन्न ऐतिहासिक घटनाहरूले भूमिका खेलेका थिए।
नेपालमा २०५२ सालदेखि एक दशकसम्म माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वले देशको राजनीतिक परिदृश्य परिवर्तन गर्यो। द्वन्द्वकै क्रममा माओवादीले गणतन्त्रको मागलाई आफ्नो प्रमुख एजेन्डा बनायो। तर, जानकारहरूका अनुसार प्रारम्भिक चरणमा माओवादीले गणतन्त्रलाई प्रत्यक्ष रूपमा अघि सारेको थिएन।
२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्र शाहले तत्कालीन सरकारलाई बर्खास्त गरी प्रत्यक्ष शासन लिएका थिए। यो कदमको विरोध गर्दै सात प्रमुख राजनीतिक दलहरूले जनआन्दोलनको नेतृत्व गरे।
२०६२ साल मङ्सिर ७ गते भारतको नयाँ दिल्लीमा माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे समझदारी भयो। यस समझदारीमा “निरङ्कुश राजतन्त्रको अन्त्य” को उल्लेख भए पनि “गणतन्त्र” शब्द भने प्रत्यक्ष रूपमा उल्लेख गरिएको थिएन।
१२ बुँदे समझदारीपछि माओवादी र राजनीतिक दलहरूबीच सहकार्य हुन पुग्यो। २०६२/६३ को दोस्रो जनआन्दोलनले राजतन्त्रविरुद्धको माहोल थप बलियो बनायो। व्यापक जनदबाबपछि राजा ज्ञानेन्द्रले २०६३ साल वैशाख ११ गते संसद् पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित संसद्ले २०६३ जेठ ४ गते राजाका अधिकार निलम्बन गर्यो।
२०६३ मङ्सिर ५ गते माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भयो। यसमा संविधानसभामार्फत राजसंस्थाको भविष्यबारे निर्णय गर्ने उल्लेख गरिएको थियो।
२०६४ साल चैत्र २८ गते भएको संविधानसभा निर्वाचनमा माओवादी प्रमुख शक्ति बनेर उभियो। २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले “संघीय लोकतान्त्रिक गणतन्त्र” घोषणा गर्दै राजतन्त्रको अन्त्य गर्यो।
नेपालको गणतन्त्र स्थापनामा माओवादी सशस्त्र विद्रोह, जनआन्दोलन, १२ बुँदे समझदारी, र विस्तृत शान्ति सम्झौता प्रमुख आधार बने। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र जनताको असन्तुष्टि गणतन्त्र स्थापनाको निर्णायक कारकहरू भए।
नेपालमा माओवादीको द्वन्द्व चलिरहेकै समयमा विसं २०५८ साल जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भयो। राजदरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रसहित उनको वंश नै नाश हुने हत्याकाण्ड भयो।
कतिपय राजनीतिक विश्लेषकहरू त्यही घटना नेपालमा गणतन्त्र स्थापनातर्फको कोसेढुङ्गा भएको ठान्छन्। दरबार हत्याकाण्ड भएपछि अब गणतन्त्र आयो भन्ने माओवादीलाई लागेकै हो, माओवादीका सचिव राम कार्की भन्छन्। नेपालमा राजतन्त्रको भावनात्मक साइनो वीरेन्द्रसँग थियो। उनको परिवारलाई नै सिद्ध्याइदिएपछि त्यो रहेन।
माओवादीमा प्रारम्भिक बुझाइ राजतन्त्रको विपक्षमा भए पनि पछि पार्टीभित्र राजालाई राष्ट्रवादी देख्ने एउटा खेमा देखिएको उनको भनाइ छ। प्राध्यापक तथा लेखक बराल वीरेन्द्रको परिवार मारिएपछि मात्रै माओवादी गणतन्त्रको पक्षमा खुलेर देखिएको बताउँछन्। ूदरबार हत्याकाण्ड भएपछि मात्रै माओवादी गणतन्त्रको अजेन्डामा आएको हो। त्यसभन्दा अगाडि उसले गणतन्त्र शब्द प्रयोग गरेको थिएन, बराल भन्छन्।
विश्लेषक बराल पूर्वराजा ज्ञानेन्द्र शाहले अन्तिम समयसम्म पनि आफूलाई सेनाले साथ दिने विश्वास गरेको बताउँछन्। तर जनताको लहर देखेर सेनाले पनि हामी विरुद्धमा उभिन सक्दैनौँ भन्ने निर्णय लियो। त्यसमा सेनालाई कसले कसरी भन्यो भन्ने कुराहरू पनि छन्, बराल भन्छन्।
नेपालका कम्युनिस्ट शक्तिहरू राजतन्त्रको पक्षमा थिएनन्। संवैधानिक राजतन्त्रको पक्षमा रहेको कांग्रेसका सभापति कोइरालालाई पनि राजाले बिच्काएपछि कांग्रेस पनि विरोधमा गयो, राजतन्त्र अन्त्य हुनुको कारणबारे बराल भन्छन्।
नेपालमा राजाले मौलिक अधिकारमा बन्देज लगाएपछि विदेशी समर्थन पनि घट्दै गयो र माओवादीभित्र पनि गणतन्त्र हुनैपर्छ भन्नेमा बाबुराम भट्टराईहरू थिए। त्यस कारण माओवादी पनि एउटा कारण हो।
विसं २००७ मा राजा त्रिभुवनको शाही घोषणामा गणतन्त्र शब्द परेको थियो। ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोू उक्त घोषणामा उल्लेख थियो।
तर उक्त वक्तव्यमा अङ्ग्रेजी शब्द डेमोक्रेसीको नेपाली अर्थ प्रजातन्त्रको ठाउँमा गणतन्त्र परेको ठानिएको पूर्वराजदूत तथा लेखक बराल बताउँछन्। त्यसबारे आफ्नो बुझाइबारे बराल भन्छन्, किनभने त्यसपछि त्रिभुवन र उनीपछिका महेन्द्र थप सक्रिय हुँदै गए। हुँदाहुँदा २०१७ साल पुस १ गते राजाले सत्ता हातमा लिएर निर्दलीय पञ्चायती शासन सुरु गरेका थिए।



